• १८ फागुन २०८२, सोमबार

आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना

blog

काठमाडौँ, फागुन १८ गते । देशका केही भूभागमा सोमबार मौसममा आंशिक बदली देखिने र सीमित स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार तराई क्षेत्रका केही स्थानमा आज बिहान हुस्सु लाग्ने देखिएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहनेछ भने यी प्रदेशका पहाडी क्षेत्रसहित बाँकी हिमाली भूभागमा पनि आंशिक बदली रहने अनुमान गरिएको छ । अन्य भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ ।

विभागका अनुसार कोशी प्रदेशका पहाडी तथा हिमाली भूभागमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ ।

आज राति पनि तराई क्षेत्रका केही स्थानमा कुहिरो लाग्ने देखिएको छ । कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम प्रायः सफा रहने पूर्वानुमान गरिएको छ। रातिको समयमा समेत कोशी प्रदेशका पहाडी तथा हिमाली भूभाग र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने विभागले जनाएको छ ।