ठाकुरप्रसाद आचार्य
म्याग्दी, फागुन १८ गते । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निश्पक्ष, पारदर्शी एवम् भयरहित वातावरणमा सम्पन्न गर्नका लागि जिल्ला निर्वाचन आचारसंहिता अनुगमन अधिकृतको कार्यालयले आचारसंहिता पालनामा कडाई गरेको छ ।
राजनीतिक दल र उम्मेदवारहरुले निर्वाचन आयोगले जारी गरेको आचारसंहिताको उल्ङ्घन हुन नदिन अनुगमनलाई तीव्रता दिँदै आचारसंहिता पालनामा कडाई गरिएको अनुगमन अधिकृत एवम् सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले जानकारी दिनुभयो ।
बेनी बजार क्षेत्रमा निर्वाचन आचारसंहिताको उल्ङ्घन भएको सूचना प्राप्त भएपछि अनुगमन अधिकृत र सुरक्षाकर्मी सहितको टोलीले अनुगमन गर्दा निर्वाचन आचारसंहिता विपरित हुने गरी उम्मेदवारको फोटो अंकित टिसर्टहरु बिक्री वितरण गरेको पाइएपछि त्यस्ता सामग्रीहरु जफत गरिएको अनुगमन अधिकृत आचार्यले बताउनुभयो ।
जिल्ला निर्वाचन आचारसंहिता अनुगमन अधिकृत एवम् सहायक प्रमुख जिल्ला अधिकारी आचार्यले भन्नुभयो, ‘‘निर्वाचन आचारसंहिता विपरित हुनेगरी होली पर्व मनाउने नाममा उम्मेदवारका फोटो अंकित टिसर्ट बजारमा बिक्री एवम् वितरण भएको भन्ने गुनासो आएपछि बजार क्षेत्रमा अनुगमन गरेका थियौं । केही सामग्रीहरु टोलीले जफत गरेको छ । त्यस्ता टिसर्ट बिक्री नगर्न व्यवसायीलाई सचेत पनि बनाएका छौं ।’’
होली पर्व मनाउने नाममा उम्मेदवारको तस्बिर भएका टिसर्टहरु बिक्री, वितरण गर्न र लगाएर होली मनाउन निर्वाचन आचारसंहिताले रोक लगाएको अनुगमन अधिकृत एवम् सहायक प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो ।
निर्वाचनको दिन नजिकिएसँगै निर्वाचन आचारसंहिता पालना भए नभएको बारेमा अनुगमनलाई तीव्रता दिएको उहाँले बताउनुभयो । होली पर्व मनाउँदा निर्वाचन आचारसंहिताको पालना गर्न जिल्ला प्रशासन कार्यालय म्याग्दीले सबै पक्षलाई अनुरोध गरेको छ ।