हुम्ला समाचारदाता
हुम्ला, फागुन १८ गते । कामका लागि भारतको कालापहाड गएका हुम्लावासी फर्कने क्रम सुरु भएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गर्न तीन महिनाअगाडि भारत गएका उनीहरू मत हाल्न घर फर्कन थालेका हुन् ।
साढे तीन महिना भारतको अल्मोडामा काम गर्न गएका अदानचुली गाउँपालिका–१ को कल्खेका दाने महताराले मतदानकै लागि आफू जिल्लामा फिर्ता भएको बताउनुभयो । गाउँ आउने क्रममा हुम्ला र बाजुरा जिल्लाको सिमाना कवाडीमा भेटिएका महताराले यस पटक डेढ महिनाअगाडि जिल्ला फिर्ता भएको बताउनुभयो । सो गाउँपालिकाका उहाँसहित नौ जना फर्किएका छन् ।
तीन महिनादेखि भारतकै नैनीतालमा काम गर्दै आएका ताँजाकोट गाउँपालिका–२ का मनलाल जैसीले निर्वाचनमा मतदान गर्नकै लागि गाउँ फर्केको बताउनुभयो । उहाँसहित ११ जना फिर्ता भएका छन् । राम्रो र सक्षम व्यक्ति छनोट गर्न काम छोडेर मतदान गर्न फर्केको बताउँदै जैसीले फागुन २० सम्म भारतबाट धेरै मतदाता फर्कने जानकारी दिनुभयो । कमाइ राम्रो भएकाले घर नआउने योजना भएका बेला घरपरिवारबाट मतदान गर्न आउन आग्रह गरिएपछि आएको उहाँले बताउनुभयो ।
उहाँले हुम्ला पुग्ने दिनमा हुम्लाका चङ्खेली, अदानचुली र ताँजाकोट गाउँपालिकाका गरी ७४ जना मतदाता फर्केका जनाउनुभयो । भारतको कालापहाडमा कामका लागि गएका दक्षिणी हुम्लाका मतदाता तीन दिनयता फर्कने क्रम जारी रहेको अदानचुली गाउँपालिकाका हिक्मत सिंहले बताउनुभयो । हालसम्म अदानचुलीमा डेढ सय मतदाता भारतबाट फिर्ता भएका छन् । दक्षिणी क्षेत्रका तीन गाउँपालिकाबाट गत कात्तिक अन्तिम सातायता दुई हजार दुई सयभन्दा बढी भारतका विभिन्न भागमा काम गर्न गएका थिए ।