• १८ फागुन २०८२, सोमबार

नाग्म–गमगढी राजमार्ग कालोपत्रे गर्न बजेट सुनिश्चित

blog

कालोपत्रे हुने निश्चित भएको नाग्म–गमगढी राजमार्ग । तस्बिर : नेत्र शाही

जुम्ला समाचारदाता  

जुम्ला, फागुन १८ गते । सरकारले नाग्म–गमगढी राजमार्ग कालोपत्रे गर्न बजेट सुनिश्चित गरेको छ । नाग्मदेखि गमगढीसम्मको सडक बजेट अभावका कारण झन्डै तीन वर्षदेखि रोकिएको थियो । सडक डिभिजन कार्यालय जुम्लाका अनुसार यस पटक भने अब सरकारले बजेट स्वीकृत गरेपछि नाग्मदेखि देवारगाउँसम्मको करिब १५ किलोमिटरका लागि ठेक्का आह्वान भएपछि उक्त सडक कालोपत्रे हुने निश्चित भएको हो । 

डिभिजन प्रमुख श्रवणकुमार महताराका अनुसार आइतबार ठेक्का आह्वान गरिएको छ । ९१ करोड ६६ लाख बजेट स्वीकृत भएकोमध्ये ठेक्का कसरी पर्छ सोही अनुसार स्वीकृत हुने जानकारी उहाँले दिनुभयो । उहाँले नाग्मदेखि देवार गाउँसम्मको १५ किलोमिटर कालोपत्रे सडकमा उच्चस्तरको कालोपत्रे अस्फाल कङ्व्रिmट रहने गरी ठेक्का आह्वान गरिएको बताउनुभयो । यो सडकका लागि बहुवर्षीय बजेट स्वीकृत भइसकेको हो । 

बजेट अभावले गुज्रिरहेको सो राजमार्गको बजेट स्वीकृत अगाडि बढाउन पहिलो प्राथमिकतामा राखिएको भौतिक पूर्वाधार, सहरी विकास, वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले जानकारी दिनुभयो । उहाँले पद बहाली गरेको केही समयमा सिँजावासी, मुगुवासी र कर्णालीवासीबाट नाग्म–गमगढी सडक स्तरोन्नति गर्न माग आएको थियो । सोही अनुसार अगाडि बढाएर टेन्डरका लागि सूचना जारीसमेत भएको जानकारी उहाँले दिनुभयो । कठिन सडकका कारण राति नचल्ने कर्णाली राजमार्गको स्तरोन्नतिका लागि विज्ञ टोलीसमेत खटाइएको उहाँको भनाइ छ । 

चार वर्षअगाडि सिँजाको कनकासुन्दरी गाउँपालिका क्षेत्रमा छ किलोमिटर मात्र कालोपत्रे भएको थियो । त्यसपछिको समयमा बजेट नहुँदा सडक डिभिजन कार्यालयले काम अगाडि बढाउन सकेको थिएन । अहिले जुम्ला निवासी चौलागाईंले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाइसकेपछि योजना आयोग हुँदै अर्थ मन्त्रालयमा बजेट स्वीकृत गरिएको थियो । 

अर्थमन्त्री रामेश्वर खनाललाई समेत यो बजेटका लागि वित्त आयोगको अध्यक्ष भएर जुम्ला आउँदादेखि अर्थमन्त्रीको जिम्मेवारी गर्दासम्म जुम्लावासी तथा मुगुवासीले निरन्तर नाग्म–गमगढी राजमार्ग कालोपत्रेका लागि काम गरिदिन अनुरोध गर्दै आएका थिए । 

नाग्म–गमगढी सडक रणनीतिक रूपमा उत्तर–दक्षिण जोड्ने राजमार्ग पनि हो । सिँजा–मुगु–नाक्चेलाग्ना चीन जोड्ने सबैभन्दा छोटो सडकमध्ये एक हो ।  रारा र सिँजामा आउने पर्यटकका लागि बाटो स्तरोन्नति मात्रै हुने हो भने यस क्षेत्रले पर्यटकीय आर्थिक विकासमा समेत ठुलो टेवा पुग्ने देखिन्छ । यस क्षेत्रमा काम गर्ने केही निर्माण व्यवसायीले भने काम अलपत्र पार्ने गरेका कारण पनि साना टुक्रे कामले सडक झन् प्रभावित हुने गर्छ । उक्त सडकको दुरी ९३ किलोमिटर छ ।