• १८ फागुन २०८२, सोमबार

सुदूरपश्चिमबाट एक उपप्रधानसहित चौध पूर्वमन्त्री उम्मेदवार

blog

प्रकाशविक्रम शाह 

धनगढी , फागुन १८ गते । सुदूरपश्चिम प्रदेशमका विभिन्न निर्वाचन क्षेत्रबाट एक जना पूर्वउपप्रधानमन्त्रीसहित १४ जना मन्त्री चुनावी मैदानमा उत्रिएका छन् । चुनावमा होमिएकामध्ये पूर्वउप्रधानमन्त्री, पूर्वमन्त्री, प्रदेशका पूर्वमुख्यमन्त्री, मन्त्री र राज्यमन्त्री छन् । 

उपप्रधान, रक्षा तथा गृहसहितका मन्त्रालय समाल्नुभएका डा. भीमबहादुर रावल अछाम क्षेत्र नम्बर–१ बाट उम्मेदवार बन्नुभएको छ । लेखराज भट्ट कैलाली क्षेत्र नं. ४ बाट, एनपी साउद कञ्चनपुर क्षेत्र नं. ३ बाट, दामोदर भण्डारीलाई बैतडीबाट, दार्चुलाबाट गणेश ठगुन्ना, गौरीशङ्कर चौधरी कैलाली क्षेत्र नं. ३ बाट, बीना मगर कञ्चनपुर क्षेत्र नं. १ बाट, प्रेम आलेमगर कैलाली क्षेत्र नं. ५ बाट उम्मेदवार बन्नुभएको छ । नेपाल सरकारका राज्यमन्त्री जनकराज गिरी बाजुरा र जनकराज चौधरी कैलाली क्षेत्र नंं. १ बाट उम्मेदवार बन्नुभएको छ । 

सुदूरपश्चिम प्रदेशका पहिलो मुख्यमन्त्री त्रिलोचन भट्ट, आर्थिक मामिलामन्त्री भइसक्नुभएका तारा लामा तामाङ कञ्चनपुर क्षेत्र नं. १ बाट र आन्तरिक मामिला तथा आर्थिक मामिला मन्त्रालय समाल्नु भएका प्रकाशबहादुर शाह बाजुराबाट उम्मेदवार हुनुहन्छ । 

यस्तै मानबहादुर सुनार कञ्चनपुर क्षेत्र नंं. ३ बाट उम्मेदवार बन्नुभएको छ । 

चार पटक नेकपा (एमाले) बाट चुनाव जित्नुभएका डा. भीमबहादुर रावल अछाम क्षेत्र नं. १ बाट नेकपाको उम्मेदवार हुनुभएको छ । उहाँ २०६४ मा समानुपातिकबाट संविधान सभा सदस्य पनि हुनुहुन्थ्यो । उहाँ नेपाली कांग्रेसका भरत स्वाँर, एमालेका दीपक साउदसँगै चुनावी मैदानमा हुनुहुन्छ । सो क्षेत्रमा रावल, स्वाँर र साउदबिच नै मुख्य प्रतिस्पर्धा हुने अनुमान छ ।

यस्तै कैलाली क्षेत्र नं. ४ बाट लेखराज भट्ट एमालेका उम्मेदवार बन्नु भएका लेखराज भट्ट २०६४ र २०७४ मा तत्कालीन माओवादीका उम्मेदवारका रूपमा विजयी हुनुभएको थियो । उहाँलाई कांग्रेसका गोरख विष्ट आनन्द र नेकपाका हरि चौधरी उत्सवले कडा टक्कर दिने बताइन्छ ।

तीन पटक प्रतिनिधि सभा सदस्य निर्वाचित हुनु भएर पटक पटक सरकारमा पुग्नु भएका कांग्रेसका एनपी साउद कञ्चनपुर क्षेत्र नं. २ बाट उम्मेदवार हुनुहन्छ । उहाँलाई एमालेका वचनबहादुर सिंह, नेकपाका माधव पन्त र रास्वपाका दीपक बोहोराले टक्कर दिने अनुमान छ । 

एमालेबाट लगातार तीन पटक चुनाव जित्नुभएका पूर्वमन्त्री दामोदर भण्डारीलाई बैतडीमा कांग्रेसका चतुरबहादुर चन्दले कडा टक्कर दिने अनुमान छ । एमालेबाटै प्रतिनिधि सभा सदस्य भएर मन्त्री बनिसक्नु भएका दार्चुलाबाट गणेश ठगुन्नाको पनि कांग्रेसकै धर्मानन्द जोशीसँग प्रतिस्पर्धा रहेको छ । 

तराईको जिल्ला कैलाली क्षेत्र नं. ३ बाट एमालेका पूर्वमन्त्री गौरीशङ्कर चौधरी, नेकपाका वीरमान चौधरी, कांग्रेसका भीम बडुवालसित चुनावी मैदानमा हुनुहुन्छ । तराईकै अर्को जिल्ला कञ्चनपुर–१ बाट नेकपाकी नेतृ पूर्वमन्त्री बीना मगर चुनावी मैदानमा हुनुहुन्छ । उहाँ २०७९ का प्रतिनिधि सभा सदस्य तथा प्रदेश सरकारका पूर्वमन्त्री एमाले नेता तारा लामा तामाङ र कांग्रेसका गोपीप्रसाद उपाध्यायसँग चुनावी मैदानमा हुनुहुन्छ ।

डोटीबाट लगातार तीन पटक चुनाव जित्नु भएका पूर्वमन्त्री प्रेम आलेमगर कैलाली क्षेत्र नंं. ५ बाट उम्मेदवार बन्नुभएको छ । नेकपाका आले, कांग्रेसका नरनारायण शाह मनु, एमालेका यज्ञराज ढुङ्गाना र रास्वपाका डा. आनन्द चन्दसित चुनावी मैदानमा हुनुहुन्छ ।

यसै गरी कैलाली क्षेत्र नं. १ बाट नेपाल सरकारका राज्यमन्त्री भइसक्नु भएका कांग्रेसका जनकराज चौधरी नेकपाका रामलाल डगौरा थारू, एमालेका द्वारिकाप्रसाद न्यौपाने र उज्यालो नेपालका प्रदीप चौधरीसित चुनावी प्रतिस्पर्धा गरिरहनुभएको छ । 

त्यसै गरी सुदूरपश्चिम प्रदेशका पहिलो मुख्यमन्त्री त्रिलोचन भट्ट डोटीबाट उम्मेदवार बन्नुभएको छ । नेकपाका नेता भट्टसँग कांग्रेसका भरतबहादुर खड्का र एमालेका दीपक धामी चुनावी मैदानमा हुनुहुन्छ । 

आन्तरिक मामिला र आर्थिक मामिला मन्त्रालय समाल्नुभएका प्रकाशबहादुर शाह बाजुराबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुनुभएको छ । उहाँले एमालेका लालबहादुर थापा र कांग्रेसका नेपाल सरकारका पूर्वराज्यमन्त्री जनकराज गिरीसित प्रतिस्पर्धा गर्नु परेको छ ।

प्रदेशको भूमि व्यवस्था र कृषि राज्यमन्त्री भइसक्नु भएका मानबहादुर सुनार कञ्चनपुर क्षेत्र नंं. ३ बाट उम्मेदवार बन्नुभएको छ । सो क्षेत्रमा एमालेका डा. दीपकप्रसाद भट्ट र कांग्रेसका हरिप्रसाद बोहोरा चुनावी मैदानमा हुनुहुन्छ ।