रामकृष्ण बोहरा
बागलुङ, फागुन १८ गते । दक्षिण बागलुङको जैमिनी नगरपालिका–१० राङखानीस्थित विकट धुस गाउँ सडक सञ्जालसँग जोडिएको छ। जैमिनी–८ छिस्तीको केवैखानीदेखि मोटरबाटो निर्माण थालिएको तीन वर्षपछि धुस गाउँमा सडक पुगेको हो।
कडा चट्टान र पहरायुक्त भूगोलका कारण छिस्तीको केवैखानीदेखि धुससम्मको करिब सात किलोमिटर सडक निर्माण गर्न तीन वर्ष लागेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताउनुभयो।
“धुस गाउँ नजिकको भिरालो भूगोलमा कडा चट्टान छिचोल्न समय लागेकाले छोटो दूरीको सडक निर्माण गर्न पनि धेरै समय लाग्यो,” उहाँले भन्नुभयो।
हाल धुस गाउँसम्म सडक पुगे पनि भित्तो काट्ने, पहिरो जोखिम क्षेत्रमा ग्याबिन जाली लगाउने, टेवा पर्खाल र नाली निर्माण गर्ने काम आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरी सम्पन्न गरिने उपप्रमुख शर्माले बताउनुभयो। साथै धुस गाउँलाई फलाटे हुँदै बरेङ गाउँपालिका–१ धुल्लुबास्कोटसँग जोड्ने योजना रहेको उहाँले जानकारी दिनुभयो।
जैमिनी नगरपालिकाको १८ लाख र गण्डकी प्रदेश सरकारको ६० लाख गरी कुल ७८ लाख रुपैयाँ लागतमा केवैखानी–धुस सडक निर्माण गरिएको हो। जैमिनी नगरपालिकाले भूगोलका हिसाबले दुर्गम र उत्पादनका हिसाबले महत्त्वपूर्ण बस्तीमा सडक विस्तारलाई प्राथमिकता दिँदै आएको छ।
विकट बस्तीमा सडक पुगेपछि बिरामी पर्दा समयमै स्वास्थ्य संस्थामा पुग्न र गाउँमा उत्पादित कृषि उपज बजारसम्म पु¥याउन सहज हुने केवैखानी–धुस सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष हिराबहादुर पुनले बताउनुभयो।
अधिकांश जनजाति समुदायको बसोबास रहेको धुस गाउँमा आलुको उत्पादन प्रशस्त हुने गर्दछ। “अब घरायसी उपभोगपछि बाँकी आलु बजारमा पठाएर आम्दानी गर्न सकिन्छ,” पुनले भन्नुभयो।
सिँचाइ सुविधा भएकाले उर्वर भूमि रहेको धुसमा स्थानीय जातको आलुसँगै मौसमी तरकारी पनि प्रशस्त उत्पादन हुने उहाँले बताउनुभयो। “पहिले घरमा उपभोगपछि बाँकी तरकारी पशुलाई खुवाउनुपथ्र्यो, अब संकलन गरेर बजार पठाउने योजना बनाएका छौँ,” उहाँले भन्नुभयो।
सडक सञ्जालबाट वञ्चित धुस गाउँका बासिन्दाले पालिका केन्द्र कश्मिसेरा र बागलुङ बजार पुग्न एक घण्टाको ठाडो उकालो पैदल हिँडेर राङखानीको डाँडाखानी पुगेर मात्र सवारी साधन चढ्नुपर्ने बाध्यता थियो। “अब बिरामी पर्दा समयमै स्वास्थ्य चौकी पुगेर उपचार गर्न पाइने आशा पलाएको छ,” अध्यक्ष पुनले भन्नुभयो।