विनय कर्ण
कल्याणपुर (सप्तरी), फागुन १८ गते । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गर्न नेपाली सेनाअन्तर्गत बरखगणले आइतवार साँझदेखि सप्तरी जिल्लाभर संयुक्त गस्ती सञ्चालन गरेको छ ।
नेपाली सेनाले हाई मोबिलिटी तथा लाईट ट्याक्टिकल भेहिकल, अत्याधुनिक प्रविधियुक्त साधन, बख्तरबन्द सवारीसाधन र अतिरिक्त सुरक्षाकर्मी परिचालन गरी जिल्लाका २९६ मतदान स्थललाई लक्षित गर्दै गस्ती थालेको हो ।
जिल्लामा रहेको अति संवेदनशील २०९ संवेदनशील ८३ र सामान्य चार मतदानस्थल गस्तीमार्फत २४ सौं घण्टा निगरानी, नियमित पेट्रोलिङ, मतदान स्थलको अवस्थाको मूल्याङ्कन तथा सम्भावित अवाञ्छित गतिविधि रोकथाम गर्ने उद्देश्यले गस्ती थालिएको राजविराजस्थित बरखगणका गणपति प्रमुख सेनानी सोवितबहादुर चन्दले जानकारी दिनुभयो ।
यसले जिल्लाका आम नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउनुका साथै सुरक्षा संयन्त्रबिचको समन्वयलाई थप प्रभावकारी बनाउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
शान्तिपूर्ण र भयरहित निर्वाचन सम्पन्न गराउन निर्वाचन अवधिभर सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकतामा राखिने बरखगणले जनाएको छ ।