मध्यपूर्वका विभिन्न देशमा लाखौँ नेपाली कार्यरत छन् । रोजीरोटीका लागि त्यहाँ कार्यरत नेपालीको सुरक्षा हाम्रा लागि प्रमुख चासोको विषय बनेको छ । मध्यपूर्व शनिबार बिहानदेखि एकाएक युद्धभूमिमा परिणत भयो । जेनेभा वार्ता विफल भएपछि अमेरिका र इजरायल मिलेर इरानमाथि आक्रमण सुरु गरे । त्यसलगत्तै इरान पनि प्रत्याक्रमणमा उत्रियो । इरानले इजरायलसहित अमेरिकी सैन्य अखडा रहेका कुवेत, साउदी अरब, बहराइन, संयुक्त अरब इमिरेट्स, कतारमा क्षेप्यास्त्र प्रहार गरेसँगै शान्ति बिथोलियो । आकाश असुरक्षित बन्यो । विमान कम्पनीले एकाएक सबै उडान स्थगित गरेका छन् । उडान स्थगितले हजारौँ यात्रु अलपत्र परेका छन् । सर्वत्र त्रास, आतङ्क र असुरक्षा छाएको छ । शनिबारै नेपाल सरकारले मध्यपूर्वमा विकसित पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै नेपाली नागरिकलाई इजरायल र इरानको भ्रमण तत्कालका लागि स्थगित गर्न आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले ‘ट्राभल एड्भाइजरी’ जारी गर्दै दुवै देशको स्थिति सामान्य नभएसम्म भ्रमण नगर्न र त्यहाँ रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन भनेको छ । मन्त्रालयले इजरायल र इरानका सम्बन्धित निकायले जारी गरेका सुरक्षासम्बन्धी निर्देशन र सल्लाहको पूर्ण रूपमा पालना गर्न, सकेसम्म घरभित्रै रहन, सतर्कता अपनाउन, सावधानी अपनाउन र आफ्नो क्षेत्रमा रहेका नेपाली समुदायसँग नियमित सम्पर्कमा रहन आग्रह गरेको छ । इजरायल र इरानका आधिकारिक निकायको पूर्वस्वीकृतिबिना यात्रा नगर्न भनिएको छ ।
काठमाडौँस्थित परराष्ट्र मन्त्रालय, तेल अभिभस्थित नेपाली राजदूतावास र दोहास्थित नेपाली राजदूतावासको सम्पर्कमा रहन, इजरायल वा इरान भ्रमणको योजना बनाएका नेपाली नागरिकलाई दुवै देशको स्थिति सामान्य नभएसम्मका लागि आफ्नो भ्रमण स्थगित गर्न, मध्यपूर्वका अन्य देशमा बसोबास गरिरहेका र कार्यरत नेपाली नागरिकलाई पनि घटनाक्रमको निरन्तर अनुगमन गर्दै सुरक्षित रहन सावधानी अपनाउन नेपाल सरकारले आग्रह गरेको छ । युद्धका बेला सावधानी अपनाउन सकिएन भने अकालमा ज्यान जान्छ । मध्यपूर्वको युद्ध ‘साँढेको जुधाइ बाच्छा’को मिचाई जस्तो देखिएको छ । त्यहाँ बमबारी र क्षेप्यास्त्र प्रहारबाट जनधनको क्षति भइरहेको छ । कति बेला कहाँ क्षेप्यास्त्र प्रहारको सिकार भइने हो भन्ने टुङ्गो छैन । त्यही भएर त्यहाँ रहेका नेपाली सुरक्षित भएर बस्नुपर्ने अवस्था छ । इजरायलले प्रहार गरेका क्षेप्यास्त्र दक्षिण इरानस्थित दुई वटा विद्यालयमा विस्फोट हुँदा १०८ जना निर्दोष विद्यार्थीले अकालमा ज्यान गुमाएका छन् भने थुप्रै घाइते भएका छन् । विद्यालयका भवन ध्वस्त भएका छन् । अमेरिका र इजरायलले इरानको राजधानी तेहरानसहित विभिन्न लक्षित स्थानलाई आक्रमणको निसाना बनाएका छन् तर सबै निसाना अचुक हुँदैनन् । क्षेप्यास्त्रहरू लक्ष्य भेदन नगरी अन्यत्रै विस्फोट भएर ठुलो क्षति पु¥याएका थुप्रै घटना भएका छन् । युद्ध विनाशका कारण बन्छ । युद्ध भएपछि क्षति हुन्छ । युद्धको समयमा आफैँ सुरक्षित भएर बस्नु पर्छ । यस्तो बेला असुरक्षित र जोखिममा परेका नेपालीको शीघ्र उद्धारका लागि पनि सरकारले पहल गर्नु पर्छ ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार बिहानै तेहरानमा गरिएको भीषण हवाई आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीसहितका थुप्रै नेता मारिएको खुलासा गर्नुभयो । इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले पनि सर्वोच्च नेता खामेनी मारिएको सूचना आफूले पाएको बताउनुभयो । इरानले भने सुरुमा केही कमान्डर मारिए पनि सर्वोच्च नेता खामेनी सुरक्षित र जीवितै रहेको जिकिर गरेको थियो । अन्ततः इरानले नै खामेनी मारिएको पुष्टि गर्दै ४० दिन शोक मनाउने घोषणा गरेको छ । राष्ट्रपति ट्रम्पले इरानविरुद्ध ठुलो सैन्य कारबाही इरानी सत्ता नढलेसम्म जारी राख्ने बताउनुभएको छ । उहाँले सत्ता परिवर्तन गर्न चाहेका इरानी नागरिकलाई यो अवसरको उपयोग गर्न पनि आह्वान गर्नुभएको छ । इजरायलबाहेक मध्यपूर्वमा अरूसँग आणविक हतियार नहोस् भन्ने अमेरिकाको चाहना छ । इरान लामो समयदेखि आणविक हतियारका लागि प्रयासरत छ । उसले शान्तिपूर्ण प्रयोजनका लागि युरेनियम संवर्धन गरिरहेको दाबीलाई इजरायल र अमेरिका पत्याउन तयार छैनन् । गएको वर्ष पनि इजरायल र इरानबिच १२ दिने युद्ध भएको थियो । अमेरिका युद्धमा सामेल भई इरानका तीन वटा ठुला आणविक केन्द्रमा शक्तिशाली जिबियु–५७ बम प्रहार गरी क्षति पु¥याएको थियो । पछिल्लो पटक ती आणविक केन्द्रमा परमाणु कार्यक्रम पुनः सञ्चालन भइरहेको सूचना सार्वजनिक भयो । अमेरिकाले कूटनीतिक प्रयासबाट इरान नझुके ठुलो सैन्य कारबाही गर्ने भन्दै विगत केही सातादेखि नै इरान वरिपरि अत्याधुनिक युद्धपोतसहितको सैन्यशक्ति तैनाथ गरेको छ । यस पटक जसरी पनि इरानलाई हराउने तयारीसहितको यो युद्ध कति लम्बिने हो, यकिन छैन ।