गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन १८ गते । सरकारले पश्चिम एसिया तनावका कारण विमानस्थल बन्द भएकाले नेपाली यात्रुलाई गन्तव्यमा लग्न नसकिएकाले त्यहीँ प्रबन्ध गरिएको जनाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रीपरिषद् बैठकले सबै विमानस्थल बन्द भएकाले फर्काउन नसकिएकाले सम्बन्धित ठाउँमै सुरक्षित रहने व्यवस्था गरिएको परराष्ट्रमन्त्री बालनन्द शर्माले जानकारी दिनुभयो ।
मन्त्री शर्माले हरेक देशका राजदूतावासका राजदूतसँग समन्वय गरेर यात्रुलाई गन्तव्यमा पु¥याउने नभए रोजगार दिने कम्पनी र एरलाइन्सले रेखदेख गर्ने गरी समन्वय भइसकेको बताउनुभयो । “अहिले सबै जसो विमानस्थल बन्द भएकाले फर्काउन पनि सकिँदैन । अगाडि लैजान सकिने अवस्था छैन । जहाँ जुन अवस्थामा नेपाली छन्, त्यहीँ सुरक्षित तरिकाले रहने व्यवस्था गरिएको छ,” उहाँले भन्नुभयो, “अधिकांश नेपालीको स्वास्थ्य, सुरक्षाबारे अहिलेसम्म कुनै हताहती नभएको अवस्था छ ।”
मन्त्री शर्माले पश्चिम एसिया तनावले नेपालमा परेको प्रभाव र आफ्नो देशले कसरी प्रतिक्रिया दिने भन्नेबारे पनि छलफल भएको जानकारी दिनुभयो । “श्रम मन्त्रालय, पर्यटन मन्त्रालय र परराष्ट्र मन्त्रालयले सहकार्य गरेर तत्काल समस्या समाधान भइसकेको छ । ट्राभल एड्भाइजरी प्रकाशित गरिएको छ । सम्बन्धित मुलुकमा ट्रान्जिट परेका नेपाली कामदार र यात्रुलाई असुविधाका बारेमा छलफल भयो,” उहाँले भन्नुभयो, “हरेक देशका राजदूतावासका राजदूतसँग समन्वय गरेर यात्रुलाई गन्तव्यमा पु¥याउने वा रोजगार दिने कम्पनी र एयरलाइन्सले रेखदेख गर्ने गरी समन्वय भइसकेको छ । त्यहाँ भएका नेपालीको स्वास्थ्य, सुरक्षामा कुनै हताहत नभएको र सुरक्षाको प्रबन्ध मिलाइसकिएको छ । हरेक राजदूतावासमा हरेक अवस्थाका बारेमा सम्प्रेषण गरिसकिएको छ ।” मन्त्री शर्माले नेपालबाट बाहिर जाने विदेशी कामदारलाई नेपालकै अन्तर्राष्ट्रिय विमानस्थलबाटै समाधान गरिएको बताउनुभयो ।