• १७ फागुन २०८२, आइतबार

चलचित्र ‘लालिमा’को ट्रेलर ट्रेन्डिङमा

blog

काठमाडौँ, फागुन १७ गते । निर्वाचनका कारण चलचित्र क्षेत्रका गतिविधि कम रहेका बेला चलचित्र ‘लालिमा’को ट्रेलर युट्युबको ट्रेन्डिङमा परेको छ । शनिबार सार्वजनिक भएको ट्रेलर २४ घण्टा नबित्दै युट्युबको चलचित्रतर्फ ट्रेन्डिङ नम्बर ५ मा पर्न सफल भएको हो ।

लेखक तथा निर्देशक रोशन मिराजले यौनकर्मीहरूको यथार्थलाई पर्दामार्फत उजागर गर्ने उद्देश्यले चलचित्र निर्माण गर्नुभएको हो । यसमा अभिनेत्री रोश्नी कार्की शीर्ष भूमिकामा हुनुहुन्छ । चलचित्रमा अभिनेता जीवन भट्टराईका साथै उषा रजक, सुष्मा निरौला, घनश्याम जोशी, सबिन कट्टेल र शिशिर वाङ्देलको मुख्य भूमिका छ । ट्रेलरमा यी सबै पात्रलाई समेटिएको छ ।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर ‘लालिमा’ फागुन २९ गतेदेखि प्रदर्शनमा आउँदै छ । सार्वजनिक ट्रेलरमा अभिनेत्री रोश्नीलाई केन्द्रमा राखिएको छ । उहाँलाई यौनकर्मीको चरित्रमा प्रस्तुत गरिएको छ । ट्रेलरले रोश्नी र अभिनेता जीवन प्रेम सम्बन्धमा रहेको सङ्केत गर्छ । यौन पेसामा लागेकी ‘लालिमा’को जीवनमा आउने उतारचढाव र उनीहरूले भोग्ने मानसिक समस्यालाई चलचित्रको मुख्य विषय बनाइएको छ ।

अभिनेत्री रोश्नीका अनुसार चलचित्रले यौनकर्मीहरूको पृष्ठभूमि, बाध्यता, मनोदशा र उनीहरूले भोग्नुपर्ने कठिनाइलाई देखाउन खोजेको छ । यस्तै अभिनेत्री उषा रजक फरक क्षमता भएकी  महिलाको भूमिकामा देखिनुभएको छ । उहाँले ‘लालिमा’की आमाको भूमिका निर्वाह गर्नुभएको निर्माण पक्षले जनाएको छ ।

चलचित्रकी कार्यकारी निर्माता रीना लामा हुनुहुन्छ । नेसनल सिने ग्रुप नेपालले यो चलचित्र वितरण गर्दैछ ।