कविराज घिमिरे
हिले, फागुन १७ गते । धनकुटामा मतदान स्थलमध्ये अधिकांश सामुदायिक विद्यालयमा रहेका छन् । कुल ११९ मतदान स्थलमध्ये १०५ स्थल सामुदायिक विद्यालयमा निर्धारण गरिएको छ ।
ग्रामीण भेगदेखि सहरी क्षेत्रसम्म विद्यालयलाई सहज पहुँच, पर्याप्त भौतिक संरचना र सुरक्षा दृष्टिकोणले मतदान स्थलको रूपमा प्राथमिकतामा राखिएको निर्वाचन कार्यालय धनकुटाले जनाएको छ । सात स्थानीय तह रहेको धनकुटामा सबैभन्दा बढी मतदान स्थल महालक्ष्मी नगरपालिकामा रहेको छ ।
महालक्ष्मी नगरपालिकाको २० वटा सामुदायिक विद्यालयमा मतदान स्थल तोकिएको छ । त्यस्तै चौविसे गाउँपालिका र साँगुरीगढी गाउँपालिकामा १९–१९ वटा मतदान स्थल रहेका छन् । पाख्रिवास नगरपालिकामा १४ वटा मतदान स्थल निर्धारण गरिएको छ ।
सहिदभूमि गाउँपालिका, छथरजोरपाटी गाउँपालिका र धनकुटा नगरपालिकामा ११–११ वटा मतदान स्थल कायम गरिएको छ । विद्यालयबाहेक अन्य १४ मतदान स्थल सार्वजनिक तथा सरकारी संरचनामा राखिएको छ । जसअन्तर्गत ६ वटा सार्वजनिक स्थल, ४ वटा वडा कार्यालय, २ वटा स्वास्थ्य चौकी तथा १–१ वटा सामुदायिक र सरकारी भवनमा मतदान हुने व्यवस्था गरिएका निर्वाचन कार्यालय धनकुटाका सूचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिनुभयो ।
जिल्लामा यस पटक कुल १ लाख १८ हजार ४२५ मतदाता रहेका छन् । जसमध्ये ५८ हजार ९४२ महिला र ५९ हजार ४८३ पुरुष मतदाता छन् । नियमित मतदान केन्द्रबाहेक दुई वटा अस्थायी मतदान केन्द्र पनि स्थापना गरिने जिल्ला निर्वाचन कार्यालयको भनाइ छ । यस निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि १७ जना उम्मेदवार प्रतिस्पर्धामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।