काठमाडौँ, फागुन १७ गते । परराष्ट्र मन्त्रालयले मध्यपूर्वका विभिन्न देशमा १७ लाख २९ हजारभन्दा बढी नेपाली नागरिक रहेको र उनीहरूको सुरक्षा सरकारको उच्च प्राथमिकतामा रहेको जनाएको छ । मन्त्रालयका सहसचिव एवं मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखा प्रमुख रामकाजी खड्काले आइतबार आयोजित पत्रकार सम्मेलनमा पछिल्लो घटनाक्रमबारे जानकारी दिँदै सो कुरा बताउनुभएको हो ।
सहसचिव खड्काका अनुसार मन्त्रालयले ती देशका लागि 'ट्राभल एड्भाइजरी' जारी गर्दै सुरक्षित रहन आग्रह गरेको छ । सम्बन्धित देशमा रहेका नेपाली नियोग प्रमुखहरूसँग समन्वयका लागि 'ह्वाट्सएप' समूह गठन गरिएको र कन्सुलर सेवा विभागमार्फत अनलाइन दर्ता प्लेटफर्म विकासको काम सुरु गरिएको जानकारी उहाँले दिनुभयो । यो प्लेटफर्म सबै नियोगको वेबसाइटमा उपलब्ध गराइने छ ।
पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार मुख्यसचिव सुमनराज अर्यालको नेतृत्वमा आइतबार बसेको सर्वपक्षीय बैठकले परराष्ट्र सचिव अमृतबहादुर राईको नेतृत्वमा 'आकस्मिक उद्धार टोली' गठन गर्ने निर्णय गरेको छ । सम्भावित युद्धको अवस्था, त्यसको अवधि, छिमेकी मुलुकहरूको कदम र सम्बन्धित देशको तत्परताका आधारमा उद्धार रणनीति तय गरिने मन्त्रालयको भनाइ छ ।
तथ्याङ्क अनुसार साउदी अरेबियामा तीन लाख ८४ हजार ८६५, संयुक्त अरब इमिरेट्स (युएई) मा सात लाख, कतारमा तीन लाख ५७ हजार ९१३ र कुवेतमा एक लाख ७५ हजार नेपाली रहेका छन् । यस्तै ओमनमा २५ हजार, बहराइनमा २८ हजार, इराकमा ३० हजार, साइप्रसमा १७ हजार, इजरायलमा छ हजार ५००, लेबनानमा एक हजार ४०० र इजिप्टमा ५०० नेपाली रहेका छन् । इरानमा रहेका १० नेपालीमध्ये चार जना स्वदेश फर्किसकेका छन् ।
मन्त्रालयका अर्का सहसचिव कृष्णप्रसाद ढकालले हालसम्म प्राप्त सूचना अनुसार मध्यपूर्वमा रहेका नेपाली सुरक्षित रहेको बताउनुभयो । उहाँले नेपाली नागरिकलाई नआत्तिन, आफन्तसँग सम्पर्कमा रहन र स्थानीय सरकार तथा दूतावासबाट जारी आधिकारिक सूचना पालना गर्न आग्रह गर्नुभयो ।
मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले मध्यपूर्वमा विकसित घटनालाई नेपाल सरकारले नजिकबाट नियालिरहेको बताउँदै सबै पक्षलाई अधिकतम संयमता अपनाउन र विवाद समाधानका लागि कूटनीतिक पहल गर्न आह्वान गर्नुभयो ।