• १७ फागुन २०८२, आइतबार

नोबेल मेडिकल लापरबाही मुद्दा : आजको सुनुवाइ स्थगित, चैत ८ मा अर्को पेसी

blog

फाइल तस्बिर

शशिधर पराजुली 

विराटनगर, फागुन १७ गते। विराटनगरस्थित नोबेल हस्पिटल एन्ड मेडिकल कलेजमा उपचारका क्रममा भएको भनिएको चिकित्सकीय लापरबाही सम्बन्धी मुद्दाको आज तय भएको सुनुवाइ स्थगित भएको छ। 

मोरङ जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा तोकिएको उक्त पेसी प्रतिवादी पक्षको अनुरोधमा स्थगित गरिएको हो।

सुनसरीको इनरुवाकी विमला थापा पोखरेलको मृत्युको विषयलाई लिएर दर्ता भएको मुद्दाको अर्को पेसी आगामी चैत ८ गतेका लागि तोकिएको छ। २०८१ सालमा फोक्सोको उपचारका लागि भर्ना भएकी विमलालाई श्वासप्रश्वासमा समस्या हुँदाहुँदै ‘मोर्फिन’ नामक औषधी चलाइएका कारण मृत्यु भएको दाबी गर्दै उहाँका श्रीमान् महेश्वर पोखरेलले मुद्दा दर्ता गर्नुभएको थियो।

पीडित पक्षले पाँच करोड रुपियाँ क्षतिपूर्तिको माग गरेको यो मुद्दा मोरङकै ठुलो उपभोक्ता अधिकार सम्बन्धी मुद्दाका रूपमा हेरिएको छ। 

अदालतले नेपाल मेडिकल काउन्सिलबाट प्राविधिक प्रतिवेदन र अस्पतालबाट उपचारका कागजात बुझिसकेको अवस्थामा आज फैसला हुने अपेक्षा गरिए पनि प्रतिवादी पक्षले पेसी सारेपछि मुद्दाको किनारा लाग्न अझै केही समय पर्खिनुपर्ने भएको छ।