• १७ फागुन २०८२, आइतबार

निर्वाचन नजिकिँदै गर्दा आन्तरिक उडानमा चाप

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन १७ गते । प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुँदै आएको उडानमा हवाईयात्रुको चाप बढेको छ । आगामी बिहीबार हुने निर्वाचनको मिति नजिकिँदै गर्दा यहाँ भित्रिनेभन्दा बाहिरिने यात्रुको सङ्ख्या बढ्दै गएको विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थलका सूचना अधिकारी तेजबहादुर पौड्यालका अनुसार पछिल्लो समय आन्तरिक उडानतर्फ दैनिक १४ हजार हाराहारी यात्रुले काठमाडौँबाट ओहोरदोहोर गर्दै आएका छन् । 

हाल काठमाडौँबाट दैनिक करिब १३० उडानबाट भरिभराउ यात्रु बाहिरिने गरेका छन् । “निर्वाचन नजिकिएसँगै आन्तरिक विमानस्थल प्रयोग गर्ने हवाईयात्रुको ओहोरदोहोर बाक्लिँदै गएको छ,” उहाँले भन्नुभयो, “प्रतिकूल मौसमका कारण उडानमा केही ढिलाइ हुने गरे पनि यात्रुको चाप अनुसार उडान सङ्ख्यासमेत बढ्दै गएको छ ।”

विगतका निर्वाचनमा आन्तरिक उडान ठप्प हुँदै आए पनि यस पटक मतदानका दिन पनि आन्तरिक र अन्तर्राष्ट्रियतर्फको हवाई उडान नियमित रहने जानकारी दिँदै उहाँले फागुन २१ गते उडानको टिकट भएका यात्रुले ढुक्कसँग यात्रा गर्न सक्ने बताउनुभयो ।

निर्वाचनका लागि मतदाता गन्तव्यतर्फ लाग्न थालेसँगै अहिले वायुसेवा कम्पनीको व्यापारसमेत दसैँतिहारमा जस्तै बढेको छ । विमानस्थल कार्यालयको तथ्याङ्क अनुसार फागुन ११ गते काठमाडौँबाट भएका २३६ उडानबाट १४ हजार २८१ यात्रुले ओहोरदोहोर गरेका छन् । जसमध्ये सात हजार २१८ यात्रु बाहिरिएका छन् भने सात हजार ६३ यात्रु काठमाडौँमा अवतरण गरेका हुन् । 

त्यस्तै फागुन १२ गते भएका २३९ उडानबाट १२ हजार ७३४ यात्रुले आन्तरिकतर्फको उडान भरेका छन् । जसमध्ये छ हजार ८९९ यात्रु बाहिरिएका छन् भने पाँच हजार ८३५ यात्रु काठमाडौँ भित्रिएका छन् ।

विमानस्थल कार्यालयका अनुसार फागुन १३ गते भएका २४९ उडानबाट १४ हजार ४६५ यात्रुले उडान भरेका छन् । १३ गते सात हजार ५४१ यात्रु बाहिरिएका हुन् भने छ हजार ९२४ यात्रु भित्रिएका हुन् ।

फागुन १४ गते भएका २४३ उडानबाट १३ हजार ४२४ यात्रुले ओहोरदोहोर गरेका छन् । जसमध्ये सात हजार २४४ यात्रु काठमाडौँबाट बाहिरिएका छन् भने उक्त दिन छ हजार १८० यात्रु भित्रिएको विमानस्थल कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार निर्वाचनअघिका तीन दिन र निर्वाचनपछिका दुई दिन हवाई उडानमा अत्यधिक चाप हुने देखिएको छ ।