गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन १७ गते । पछिल्लो समय चाँदीमा लगानीकर्ताको आकर्षण बढ्दै गएको छ । सुनसँगै चाँदीको मूल्य निरन्तर बढ्दै गएपछि लगानीकर्तामा आकर्षण बढ्न थालेको हो ।
भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा ३३ करोड ८८ लाख २८ हजार रुपियाँ बराबरको एक हजार ५४० केजी चाँदी आयात भएको छ । गत वर्ष सो अवधिमा चार लाख ३१ हजार रुपियाँ बराबरको १५ केजी चाँदी आयात भएको थियो । लगानीकर्ताको अत्यधिक मागको कारणले यस वर्ष चाँदीको आयात अहिलेसम्मकै उच्च भएको भन्सार तथ्याङ्कले देखाएको छ । यस वर्ष चाँदीको मूल्य निरन्तर बढ्दै गएपछि लगानीकर्ताले चाँदीमा लगानी गर्न थालेपछि आयातमा ह्वात्तै बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक वर्षमा चाँदीको मूल्य तोलामा पाँच हजार रुपियाँले बढेको छ । गत वर्ष एक हजार ९१५ रुपियाँ रहेको प्रतितोला चाँदीको मूल्य बढेर गत माघमा बढेर सात हजार तीन सय रुपियाँसम्म पुगेको थियो । अहिले घटेर पाँच हजार ७४० रुपियाँमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले लगानीका रूपमा चाँदीमा लगानी बढ्दै गएको जानकारी दिनुुभयो । निरन्तर चाँदीको मूल्य बढ्न थालेपछि व्यवसायी आकर्षित गरेर लगानी गर्न थालेको उहाँको भनाइ छ ।
बैङ्कको ब्याजदर घट्दै गएको र सेयर बजारसमेत घट्दै गएपछि मुनाफा आर्जनका लागि लगानीकर्ताले चाँदीमा लगानी गर्न थालेका छन् । चाँदीको माग बढ्दै गएपछि माग अनुसार आपूर्ति नहुँदा मूल्य बढ्दै गएको हो । चाँदी विशेष गरी औद्योगिक क्षेत्रमा पनि बढी प्रयोग हुने गर्छ । सोलार प्लान्ट, विद्युतीय सवारीसाधन निर्माण र एआईमा चाँदीको प्रयोग हुने गर्छ । चाँदीबाट भाडावर्तन र मूर्तिसमेत बनाइने गरिन्छ ।
नेपाल राष्ट्र बैङ्कले गत भदौमा औद्योगिक प्रयोजनका लागि ल्याउन पाउने चाँदीको सीमा बढाएको थियो ।
कच्चा पदार्थका रूपमा औद्योगिक प्रयोजनका लागि चाँदी ल्याउन एक पटकमा पाँच लाख अमेरिकी डलर बराबरको सटही सुविधा व्यवसायीले पाउने व्यवस्था गरेको छ । यसअघि औद्योगिक प्रयोजनका लागि सुविधा तीन लाख डलर थियो । नेपालमा चाँदी भारत, इटाली, रुवान्डा, अस्ट्रेलिया, युनाइटेड अरबलगायतका देशबाट आयात हुने गर्छ ।