• १७ फागुन २०८२, आइतबार

विस्तार हुँदै मकै खेती

blog

हरिप्रसाद कोइराला 

उर्लाबारी, फागुन १७ गते । उम्मेदवार, नेता र कार्यकर्तालाई प्रतिनिधि सभाको निर्वाचनले व्यस्त बनाएको भए पनि दक्षिणी मोरङका मकै खेती गर्ने किसानलाई भने निर्वाचनले छोएको छैन । अगुवा मकैमा मल लगाएर सिँचाइ गर्न बितेको छ । 

विगतमा मुसुरी, खेसरी र गहुँ खेती गर्ने दक्षिणी मोरङका किसान तीन वर्षयता मकै खेतीमा आकर्षित भएका छन् । मल र सिँचाइ पु¥याउन सक्दा प्रतिबिघा अढाई सय मन मकै उत्पादन हुन थालपछि किसान मकै खेतीमा आकर्षित हुन थालेका हुन् ।

दलहन र गहुँ खेतीभन्दा मकै खेती गर्न सजिलो हुने गर्छ । पथरीशनिश्चरे–५, तित्रीवनका विनोद चन्द्रवंशीले भन्नुभयो, “नौ कट्ठामा मकै लगाएको छु । तीन पटक सिँचाइ गर्नु पर्छ । यो तेस्रो पटकको सिँचाइ हो । पानीको स्थायी स्रोत नभएकाले विद्युतीय मोटरबाट पानी तान्दा छिनछिनमा लाइन काटिन्छ । भोल्टेज पुग्दैन । गत वर्ष मलको समस्या थियो । यस वर्ष मलको समस्या छैन । लगानी अनुसार मूल्य आउँदैन ।” उहाँले किसानका आवाज कुनै दलका नेताले नसुनेको आरोप लगाउनुभयो । उहाँ मात्र होइन, दक्षिणी मोरङको कटहरीदेखि रतुवामाईसम्मका छ पालिकाका किसानले ठुलो परिमाणमा मकैखेती गर्न थालेका छन् । रङ्गेली–७ का किसान प्रह्लादकुमार यादवले एक बिघामा मकै लगाएको बताउँदै गत वर्ष दुई सय मन उत्पादन भएकामा यस वर्ष अझ राम्रो उत्पादन हुने आस गरेको उल्लेख गर्नुभयो ।

दुई बिघामा मकै लगाउनुभएका रङ्गेली–८ का नारायणप्रसाद साहले भन्नुभयो, “उत्पादन राम्रो हुन्छ । यस वर्ष बिघामा दुई सय मनभन्दा माथि नै आउला भन्ने छ । उहाँले पनि चुनावभन्दा आफ्नो बाली नै प्राथमिकतामा रहेको बताउनुभयो ।

जिल्ला कृषि ज्ञान केन्द्र मोरङका अनुसार मोरङमा आर्थिक वर्ष २०८१/८२ मा २१ हजार एक सय हेक्टर क्षेत्रमा मकै खेती भएको थियो । उक्त क्षेत्रमा एक लाख ४७ हजार सात सय मेट्रिक टन मकै उत्पादन भएको केन्द्रको तथ्याङ्क छ । कृषि ज्ञान केन्द्र मोरङका प्रमुख दीपा देवका अनुसार मोरङमा मकैको उत्पादकत्वसमेत वृद्धि भएको छ । उहाँका अनुसार आव २०८०/८१ मा २० हजार ४५२ हेक्टरमा मकै खेती हुँदा एक लाख ४१ हजार ११८.८० मेट्रिक टन मकै उत्पादन भएको थियो । गत वर्ष प्रतिहेक्टर ६.९० मेट्रिक टन मकै उत्पादन भएको थियो । यस वर्ष प्रतिहेक्टर उत्पादन सात मेट्रिक टन पुगेको छ । 

किसानले समयमा मल र सिँचाइ गर्न पाउने हो भने उत्पादकत्व अझ बढ्ने ज्ञान केन्द्र प्रमुख दीपा देवले बताउनुभयो । आव २०७९/८० मा मोरङमा २० हजार ५२ हेक्टर जग्गामा मकै खेती भएको थियो । उक्त वर्ष एक लाख ३२ हजार ३४३.२० मेट्रिक टन मकै उत्पादन भएको थियो । तीन वर्षअघि प्रतिहेक्टर ६.६ मेट्रिक टन मकै उत्पादन भएकोमा गत वर्ष प्रतिहेक्टर ०.४ प्रतिशतले उत्पादकत्व बढेर प्रतिहेक्टर सात टन पुगेको छ ।