इनरुवा समाचारदाता
इनरुवा, फागुन १७ गते । देशभर चुनावी माहोलले छोएको भए पनि सुनसरीका किसानलाई चुनावमा मतदानभन्दा बढी मकै, गहुँ र तरकारीबालीमा सिँचाइ गर्न नपाएकोमा चिन्ताले सताएको छ । चार वटा निर्वाचन क्षेत्र रहेको सुनसरीमा १०८ जना उम्मेदवार घरदैलोमा छन् ।
इनरुवा दक्षिण क्षेत्रका किसानहरू भने नहरमा पानीको पर्खाइमा छन् । देशकै ठुलो आयोजनामध्येको एक सुनसरी मोरङ सिँचाइ आयोजना रहेको सुनसरीका किसानहरू यतिबेला नहरमा पानी नभएर सिँचाइ समस्याले पिरोलिएका छन् ।
इनरुवा–६ का किसान देवनारायण यादवले आफ्नो र अधियाँका गरी सात बिघामा मकै खेती गर्नुभएको छ ।
उहाँले मकैको महँगो बिउ, मल, विषादी र खेत तयारी मै मात्र करिब तीन लाख ५० हजार रुपियाँ लगानी मकै खेतीमा गर्नुभएको छ । उहाँको खेतमा नहर, कुलो पैनी पनि नभएको होइन तर समयमा नहरमा पानी नछाडेकाले लाखौँ लगानी गरेको मकैबाली सुक्न लागेकाले चिन्तामा डुब्नुभएको छ ।
यादवले सुनसरी मोरङ सिँचाइ आयोजनाको नहरमा भएको पानी बुढीखोलाको भाइरल पार्कमा बेचेकाले शङ्करपुर शाखा नहरमा तीन सातादेखि पानी नआएको जानकारी दिनुभयो । उहाँले सिँचाइ नपाउँदा मकै सुक्ने अवस्थामा पुगेको गुनासो गर्नुभयो । अर्का किसान श्याम यादवले कोशी नदीमा पश्चिमतर्फ पानी बगेकाले कम पानी आएको बताउनुभयो । आएको पानी पनि पार्कका लागि पठाएको र मोरङतर्फ दिएकाले सुनसरीका किसान मारमा परेको दुखेसो पोख्नुभयो । मकै खेती गरेको भए पनि अहिले सिँचाइ अभावले मकैको बोट नै सुक्ने अवस्थामा पुगेको उहाँको भनाइ रहेको छ ।
यी किसान यहाँका लागि उदाहरणका पात्र मात्र हुनुहुन्छ । देशकै ठुलो नदी सप्तकोशी सुनसरीमै भए पनि नहरमा पानी पर्याप्त मात्रामा नआएकाले किसानलाई समस्या भएको स्थानीय किसानले बताएका छन् ।
शङ्करपुर शाखा नहरमा सिँचाइका लागि पानीको माग गर्दै आएको भए पनि पालो सिस्टममा पानी आउने र कहिले आए पनि पर्याप्त मात्रामा नआउने भएकाले मकै बालीमा सिँचाइ गर्नका लागि समस्या भएको किसान सदानन्द यादवले बताउनुभयो ।
सुनसरीमा १८ हजार हेक्टर क्षेत्रफलमा गहुँ र १२ हजार हेक्टरमा मकै बाली लगाइएकोमा धेरै किसानलाई समस्या भएको यादवको कथन छ । यहाँ मकै, गहुँ र तरकारी बालीमा सिँचाइ अभावमा सुक्न लागेकाले शङ्करपुर शाखा नहरमा पर्याप्त पानीको माग गर्दै किसानले आन्दोलनमा समेत गरेका छन् । सुनसरी मोरङ सिँचाइ आयोजना विराटनगरसँग समन्वय गरेर फागुन १८ गतेपछि नहरमा पानी ल्याउने तयारी रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताउनुभयो ।