कविताभित्रको एउटा विशेष विधा हो– गीत । जसको सम्बन्ध सङ्गीतसित बढी घनिष्ट रहन्छ । गायन नै गीतको मूल धर्म हो । गीतसङ्गीतमा गुन्जिँदा हरेक मान्छेको मन छुन्छ । छोटो, सरल भाषा, एउटै मनस्थितिको चित्रण, आख्यानविहीन रचना हो– गीत । यो लेख्न सहज छैन । गीत रहरले लेखिँदैन । गीत लेख्न खास क्षमता चाहिन्छ । संवेदनशील भावना चाहिन्छ ।
वास्तवमा गीत गाउनकै लागि लेखिन्छ । गाउनका लागि मिठो स्वर चाहिन्छ । मिठो स्वरमा मिठो लय र सङ्गीत सशक्त गीतका आवश्यकता हुन् । सबै कुराको यथोचित संयोजनबाट बल्ल गीत रसिलो बन्छ । रसिलो गीतले मात्रै मान्छेको मन छुन्छ । त्यही मन छुने गीत र सङ्गीत अजम्बरी हुन्छन् ।
नेपाली साहित्यमा विसं २०८१ मा अंशियार गीतसङ्ग्रहले प्रवेश पाएको छ । धेरैले पढिसक्नुभएको होला, धेरैले पढ्दै हुनुहुन्छ होला र धेरैले पढ्न बाँकी छ होला तर यो गीतसङ्ग्रह एक पटक सबैले पढ्नु पर्छ किनभने यो सङ्ग्रहभित्र रहेका सबै गीत भाव, संरचना, बनावट र लेखनशैलीका दृष्टिकोणले निकै मर्मस्पर्शी र सुन्दर लाग्छन् । विसं २०२७ मा सितका, सुनखानी, दोलखामा जन्मिनुभएका त्रिविक्रम पाण्डे नेपाली कविता र गीतको क्षेत्रमा सुपरिचित नाम हो । हो, अंशियार उहाँकै गीतसङ्ग्रह हो, जसको चर्चा गर्ने प्रयास मैले गरेको छु ।
फैलियो माया दुबो सरी...
नेपाली गीतसङ्गीतको क्षेत्रमा यो गीतको लोकप्रियता निकै छ । यस्तै सुन्दर र मर्मस्पर्शी गीतको रचना गर्ने ऊर्जाशील गीतकार हुनुहुन्छ त्रिविक्रम पाण्डे । उहाँले गीतको सन्दर्भमा आफ्ना विचार यसरी पोख्नुभएको छ– ‘एउटा सुन्दर गीतमा, एउटा सुन्दर कवितामा पाइने सबै गुण रहेको हुन्छ । आधुनिक कवितामा जस्तै गीतको आफ्नै गन्ध हुन्छ, गीतको आफ्नै छन्द हुन्छ । गीतमा लय र तालको सङ्गम हुन्छ । त्यसैले गीत अनुपम हुन्छ । गीत संवेदनशील र कोमल हुन्छ ।’
अँधेरो रात भएँ उज्यालो बिहानी भइन्
हरपल हरक्षण जलेँ तर खरानी भइन्
अँधेरी रात गीतबाट प्रारम्भ भएको छ गीतको सिलसिला–
होस हराई बेहोसीमा जिउन छोडिदिएँ
मन्द विष त्यो मदिरा पिउन छोडिदिएँ
होस हराई बेहोसीमा शीर्षकको सकारात्मक सन्देश दिने यो सङ्ग्रहको अन्त्यमा समावेश भएको छ ।
यो सङ्ग्रहभित्र ३०८ वटा मायाप्रेम, मिलन–बिछोड, जीवन, जिजीविषा, आशा–निराशा, विकृति, विसङ्गति, विघटन हुँदै गरेको समाज, राग, द्वेष, घृणा, पारिवारिक कलह, द्वन्द्व, अराजकता जस्ता धेरै विषयलाई उजागर गर्ने गीत समावेश भएका छन् । सामाजिक विकृति र विसङ्गतिविरुद्ध झिल्काका रूपमा सकारात्मक सन्देश प्रवाह गर्ने गीत यो सङ्ग्रहभित्र छन् ।
नेपाली समाजको हरेक मान्छेले अंशियारभित्रको अंशियारका रूपमा आफूलाई कतै न कतै भएको अनुभूति गीतकार त्रिविक्रम पाण्डेका गीत पढेपछि गर्छ । यो गीतकारको सफलता हो । यस्तो बिरलै पाइने सफलताका लागि त्रिविक्रम पाण्डे भाग्यमानी हुनुहुन्छ । नेपालको गीत साहित्यमा त्रिविक्रम पाण्डेको विशिष्ट योगदान रहेको छ । भुँडी पुराण प्रकाशनद्वारा प्रकाशित गीतसङ्ग्रह अंशियारले पुनः यो सत्यलाई पुष्टि गरेको छ । भिन्दाभिन्दै स्वाद, भिन्दाभिन्दै विषय, भिन्दाभिन्दै धार र आफ्नै मौलिक स्वाद भएका मन छुने गीतले हरेक पाठकको मन छुन सफल भएका छन् ।
यो सङ्ग्रहभित्रका गीत पढिसकेपछि निष्कर्ष निकाल्न सकिन्छ कि त्रिविक्रम पाण्डे प्रेमका मिठा भाका टपक्क टिप्नुहुन्छ र गीत लेख्नुहुन्छ । मिलन, बिछोड, विश्वास र धोका समाजमा देख्नुहुन्छ र त्यसैका गीत लेख्नुहुन्छ । राष्ट्रियता, देशप्रेममा अविरल बग्छन् उहाँका गीत । अनि गीतमै लेख्नुहुन्छ– रीति, कुरीति, धर्म, संस्कृति, पर्व, पाखापखेरा, सिमाना, गामबेँसी, हिमाल, पहाड । अन्याय र अत्याचारविरुद्ध गीत लेख्नुहुन्छ उहाँ, भ्रष्टाचारविरुद्ध गीत लेख्नुहुन्छ, मानवताको पक्षमा, शान्तिको पक्षमा, सुशासनको पक्षमा गीत लेख्नुहुन्छ, खबरदारी गर्नुहुन्छ । अंशियार गीतसङ्ग्रह त्यसकै प्रमाण हो ।
अंशियार गीतसङ्ग्रहको आवरणले मन चसक्क हुन्छ । व्यक्ति, समाज र देशको समग्र विषयको सत्य ओकल्छ । भागबन्डाको विकृत स्वरूपको प्रतिनिधित्व गर्छ । सम्भवतः यत्ति धेरै गीत समेटिएको यो नै पहिलो पुस्तक हुनु पर्छ ।
त्रिविक्रम पाण्डे बहुप्रतिभाशाली व्यक्तित्व हुनुहुन्छ । उहाँको परिचय केवल गीतकारमा मात्र सीमित छैन । उहाँ कविता लेख्नुहुन्छ । मुक्तक लेख्नुहुन्छ । गजल लेख्नुहुन्छ । लघुकथा लेख्नुहुन्छ । आत्मवृत्तान्त लेख्नुहुन्छ । संस्मरण लेख्नुहुन्छ । उहाँको साहित्य क्षेत्रको यात्रा अविरल अघि बढोस्, गन्तव्यमा पुगोस् शुभेच्छा व्यक्त गर्नु हाम्रो कर्तव्य हो ।
अंशियार गीतसङ्ग्रहको नाम मात्र होइन– यो त प्रतीक हो, विम्ब हो देशको । व्यक्ति, समाज, राजनीति, संस्कार र देशमा मौलाउँदै गएको भयानक प्रवृत्तिको सङ्केत हो । स्वार्थका लागि मरिमेट्ने नेपालीपनको द्योतक पनि हो ।