• १६ फागुन २०८२, शनिबार

दलका घोषणापत्रमा पर्यटन

blog

नेपाल प्राकृतिक अनुपम र अद्वितीय सौन्दर्यले भरिपूर्ण देश हो । नेपालको विकासमा पर्यटन क्षेत्रको महत्वपूर्ण योगदान रहँदै आएको छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण विश्वको दुर्लभ देश नेपाल सामाजिक, सांस्कृतिक, धार्मिक, भाषिक, जातीय विविधताले समेत सम्भावना बोकेको देश हो । आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दलले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् । मुख्य राजनीतिक दलले आफ्नो चुनावी घोषणापत्रमा पर्यटन क्षेत्रलाई कसरी समेटेका छन् त । 

विगतका निर्वाचनमा जस्तै यस पटक पनि नेपालमा पर्यटकको सङ्ख्या बढाउनेमा सबै राजनीतिक दलको प्राथमिकता देखिएको छ । नेपाली कांग्रेसले ‘दिगो पर्यटन विकास : राष्ट्रिय अर्थतन्त्रको आधार’ भन्ने नारासहित आगामी १० वर्षभित्र वार्षिक ३० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई प्राथमिकतामा राखेको छ । नेकपा एमालेले पनि नयाँ गन्तव्यको विकास गरेर पाँच वर्षमा पर्यटक आगमन दोब्बर गर्ने प्रतिबद्धता घोषणपत्रमा राखेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपाल भित्रिने पर्यटकको सङ्ख्या दोब्बरसँगै प्रतिव्यक्ति खर्चलाई पाँच वर्षभित्र दोब्बर पार्दै औसत बसाइँ लम्ब्याउन आवश्यक नीति कार्यान्वयन गर्ने वाचापत्रमा समावेश गरेको छ । नेपाल कम्युनिस्ट पार्टीले पर्यटनमार्फत युवालाई रोजगारीमा जोड्ने प्रतिबद्वता जाहेर गरेको छ । कालोसूचीमा रहेको नेपालको हवाई क्षेत्रलाई युरोपियन युनियनमार्फत हटाउन पहल गर्ने विषयलाई नेपालका प्रमुख दलले आफ्नो प्रतिबद्धता बनाएका छन् । उज्यालो नेपाल पार्टीले २०३० सम्म विदेशी पर्यटकको आकर्षण बढाएर २० लाख पु¥याउने र २०३० सम्म ५० लाख पु¥याउने महत्वाकाङ्क्षी लक्ष्यलाई आफ्नो घोषणापत्रमा समावेश गरेको छ ।  

‘आरोग्य नेपाल’ र एयर ट्राफिक व्यवस्थापन 

नेपाली कांग्रेसले शान्ति, ध्यान र आरोग्यको विश्व गन्तव्य बनाउन ‘आरोग्य नेपाल’ को नारासहित राष्ट्रिय गौरवको आयोजनाका रूपमा सञ्चालन गर्ने ‘आध्यात्मिक राजधानी’ ब्रान्डिङ गर्ने प्रतिज्ञा गरेको छ । स्वास्थ्य सेवामा आयुर्वेद, प्राकृतिक उपचार र योग–ध्यानलाई जोड्दै प्रमुख पर्यटकीय क्षेत्रमा ‘वेलनेस जोन’ र योग प्रयोगशाला निर्माण गर्ने विषयलाई पनि पत्रमा समेटेको छ । ‘नेपाली सभ्यता र संस्कृतिलाई रोजगारी र उद्यमशीलतासँग जोड्न जीवन्त सभ्यता र स्थानीय जीवनशैलीको अनुभव’ नारा सहित सामुदायिक होमस्टे र सहरी घरवास कार्यक्रम प्रबर्धन स्थानीय वेशभूषा, रैथाने खानपान र शिल्पकलालाई पर्यटन प्याकेजका रूपमा ब्रान्डिङ गर्ने पनि समेटेको छ । नेपालमा रहेका धार्मिक र सांस्कृतिक धरोहरलाई विश्व बजारलाई चिनाउन सांस्कृतिक कोरिडोर बनाउनेदेखि कर्णाली तथा सुदूरपश्चिमका संस्कृति अनुसार क्षेत्रीय सांस्कृतिक राजधानी र पर्यटन सर्किट निर्माण गर्ने प्रण कांग्रेसको छ । 

२१ औँ शताब्दीको आवश्यकताबमोजिम पर्यटन यात्रालाई थप सहज र झन्झटरहित बनाउन बहुभाषिक डिजिटल पर्यटन प्लेटफर्म लागु गर्ने र युवालाई पर्यटनसँग जोड्नका लागि कला–संस्कृतिको डिजिटल ब्रान्डिङमा युवालाई प्रोत्साहनका लागि विशेष कोषको स्थापना गर्नेमा जोड छ । सुरक्षित र किफायती हवाई सेवा उपलब्ध गराउने, स्वदेशी तथा विदेशी पर्यटकका लागि हवाई भाडा सस्तो बनाउने र हाल एकदमै पर्यटकले सास्ती खेप्नु परेको विषय एयर ट्राफिक व्यवस्थापन चुस्त बनाएर आकाशमा हुने विमानको होल्डिङ समय न्यूनीकरण गर्नेलाई पनि कांग्रेसले प्राथमिकतामा राखेको छ । विश्वका प्रमुख सहरबाट सिधा उडान सम्पर्क गर्न पहल गर्ने, पर्यटनसँग शिक्षा, रोजगारी र सहभागितालाई जोड्ने, उच्च हिमाली क्षेत्रको पर्यटन, हिमाल संरक्षण र रैथाने खानपानको प्रवर्धन साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारीकरण पनि कांग्रेसको प्राथमिकता छ । 

विश्व बजारमा ब्रान्डिङ 

नेकपा एमालेले पर्यटकको वृद्धि, लामो बसाइ–गाउँ, सहरमा काम र कमाइ शीर्षकमा आफ्ना पर्यटनसम्बन्धी एजेन्डालाई समावेश गरेको छ । जसका नेपाललाई रहस्यमय हिमाली, आश्चर्यजनक प्रकृति, धार्मिक र सांस्कृतिक विशेषता, संस्कृति र असाधारण साहसिक पर्यटनको अनुपम अनुभवको अवसर दिने विशिष्ट गन्तव्यका रूपमा विश्व पर्यटन बजारमा ब्रान्डिङ गर्ने बताएको छ । पर्यटनको पूर्वाधार विकास, बजार प्रवर्धन, हवाई सेवा विस्तार, आन्तरिक सुरक्षा र नयाँ गन्तव्यको विकास गरेर आगामी पाँच वर्षमा पर्यटक आवागमन दोब्बर गर्ने प्रतिबद्धता जनाएको छ । ‘पर्यटकको सुरक्षा पहिलो प्राथमिकता’ र ‘हृदयस्पर्शी, अविस्मरणीय नेपाली सत्कार’ नारासहित पर्यटन सेवाको गुणस्तर वृद्धि गर्दै पर्यटकको बसाइ लम्ब्याउन विभिन्न योजना बनाउने पनि घोषणापत्रका समावेश गरेको छ । 

नेपालसम्मको अन्तर्राष्ट्रिय उडानलाई सुविधाजनक बनाउन अन्तर्राष्ट्रिय उडान सेवा प्रदायकसँग सहकार्य र आन्तरिक हवाइ सेवालाई सहज, सुरक्षित र आरामदायी बनाउने एमालेको उद्घोष छ । भिसा तथा आन्तरिक उडान भाडा दरमा पुनरवलोकन गरी गन्तव्य नेपाललाई थप आकर्षक बनाउने लक्जरी रिसोर्ट, इकोलज, ‘वेलनेस सेन्टर’ को निर्माण र सञ्चालनमा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने घोषणापत्रमा उल्लेख गरेको छ । सामाजिक सञ्जाल, अन्तर्राष्ट्रिय ट्राभल ‘ब्लगर’, ‘इन्फ्लुएन्सर’, वृत्तचित्र र चलचित्रमार्फत नेपालका विविध पर्यटन गन्तव्य, क्षेत्र र अनुभवहरूको आक्रामक प्रचारप्रसार गर्नुका साथै उक्त कार्यमा नेपाली डायस्पोराको समेत सक्रिय सहभागिता सुनिश्चित गर्ने बताएको छ । 

‘अफ सिजन’ पर्यटन प्याकेज

नेपाली कम्युनिस्ट पार्टीले नेपाललाई आकर्षक, सुरक्षित र पहुँचयोग्य पर्यटन गन्तव्य बनाउने, पर्यटनमार्फत स्थानीय रोजगारी सिर्जना र स्वदेशमै लगानी प्रवर्धन गर्ने, पर्यावरणीय संरक्षण, दिगो विकास, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डिङ, कृषि, उद्योग, आइटी र पर्यटनको सन्तुलित विकास गर्ने पर्यटनतर्फ मुख्य लक्ष्य राखेको छ । पर्यटन क्षेत्रलाई ‘स्मार्ट’, ‘डेटा–ड्राइभन’, योजना आधारित बनाई व्यवस्थित विकास गर्ने, भैरहवा र पोखरा एयरपोर्टबाट अन्तर्राष्ट्रिय उडान विस्तार गर्नेसहित विभिन्न स्थानका पर्यटकीय भौतिक पूर्वाधार गर्ने योजना सार्वजनिक गरेको छ । नयाँ र विशिष्ट पर्यटन उत्पादन लागि इको–टुरिज्म, साहसिक पर्यटन, स्वास्थ्य÷वेलनेस पर्यटन, जडीबुटी÷हर्बल पर्यटन प्रवर्धन गर्ने र कम चिनिएका हिमाली क्षेत्र खोलेर आरोहण प्रवर्धनमा सघाउ पु¥याउने कम्युनिस्ट पार्टीको योजना छ । 

खप्तड, बडिमालिका, पाथीभरालगायतका हरेक प्रदेशका विशिष्ट पर्यटकीय क्षेत्रको विकासका लागि विशेष पहल गर्नेलाई पनि समेटेको छ । मौसमी पर्यटक सङ्ख्या बढाउन ‘अफ सिजन प्याकेज’, प्रदेश र केन्द्रसँग समन्वय गर्दै स्थानिय ब्रान्डिङ र ‘ट्राभल मार्ट’ स्थापना गर्ने योजना समेटेको छ । दक्ष जनशक्ति विकास, दिगो पर्यटन र वातावरणीय सुरक्षा र भिसा, ट्रेकिङ परमिट, शुल्क, बिमा, ‘हेल्थ सर्टिफिकेट’ एकल डिजिटल पोर्टलमार्फत उपलब्ध गराइनेलगायतका प्रतिबद्धता कम्युनिस्ट पार्टीले गरेको छ । विभिन्न प्रदेशको सम्भाव्यतालाई ध्यानमा राख्दै कोशी प्रदेशलाई साहसिक पर्यटन, लुम्बिनी र मधेश प्रदेशलाई धार्मिक ‘पर्यटन हब’ र ‘पर्यटन सर्किट’ मा विकास गर्ने र गण्डकी प्रदेशलाई पर्यटन तथा जलविद्युत् र कर्णाली प्रदेशलाई ‘इको टुरिजम हब’ र सुदुरपश्चिम प्रदेशलाई धार्मिक तथा पर्यावरणीय पर्यटनको रूपमा विकास गर्ने कम्युनिस्ट पार्टीको प्रतिबद्वता छ ।  

ट्रेकिङ केन्द्रित पर्यटनलाई विविधीकरण गर्न प्रकृति, संस्कृति, समुदाय जोड्दै नयाँ ‘इकोसिस्टम स्थापनामा ध्यान दिनुका साथै कर्णाली र सुदूरपश्चिमलाई विशेष ध्यान दिई नयाँ पर्यटकीय गन्तव्य स्थापित गर्ने रास्वपाको प्राथमिकता देखिन्छ । एकद्वार डिजिटल पर्यटन प्रणालीमार्फत अध्यागमन, ट्रेकिङ, राष्ट्रिय निकुञ्ज, पर्यटन विभाग, सम्पदास्थलका फरक फरक अनुमति प्रणाली, टिकट र शुल्कलाई एउटै डिजिटल प्लेटफर्ममा एकीकृत गरी पर्यटकको समय, खर्च र झन्झट घटाउने र सहज ‘ड्रोन’ प्रयोग लगायत आधुनिक प्रविधिबाट सुरक्षा, खोज तथा उद्धार प्रणाली सुदृढ बनाउने रास्वपाको योजना रहेको छ । काठमाडौँ उपत्यकाको संस्कृति तथा वास्तुकला, देवघाटदेखि मुक्तिनाथसम्मको हिन्दु, बौद्ध महिमा र राम जानकी विवाहको ऐतिहासिक भूमि जनकपुरलाई धार्मिक सांस्कृतिक पर्यटन केन्द्रका रूपमा प्रवर्धन गर्न विशेष पूर्वाधार निर्माण गर्नेदेखि नेपाल पर्यटन बोर्ड पुनर्गठित गर्ने जसले नयाँ र सिर्जनात्मक मार्केटिङ, अनुभव सङ्कलन र प्रसारण, स्थानीय समुदायका आफ्ना पर्यटकीय उत्पादनलाई कथामार्फत बजारीकरण गर्ने रास्वपाको वाचापत्रमा समावेश छ । 

कुशासनका कारण खस्केको नेपाल वायुसेवा निगमलाई राजनीतिक भागबन्डा र हस्तक्षेपबाट पूर्ण रूपमा मुक्त गर्ने, पारदर्शी र भ्रष्टाचाररहित प्रक्रयाबाट जहाज लिजमा लिई बजारले धान्नेसम्म उडान सङ्ख्या बढाउन लगाई थप जहाजको खरिद प्रक्रिया अगाडि बढाउने पनि रास्वपाले आफ्नो वाचापत्रमा समावेश गरेको छ । नयाँ अन्तर्राष्ट्रिय विमानस्थलको योजनालाई नेपालको दीर्घकालीन बजार, विश्वव्यापी उड्डयनमा परिवर्तनशील प्रवृत्तिको विस्तृत अध्ययन विमानस्थललाई सडक एवं रेलमार्गमार्फत प्रमुख सहरसँग जोड्न सार्वजनिक र निजी वित्तीय स्रोतको व्यवस्थापन गर्ने लगायतका एजेन्डा रास्वपाको छ । 

उज्यालो नेपाल पार्टीले पर्यटकको सङ्ख्यामा वृद्वि गर्न पर्यटकीय पूर्वाधार निर्माण गर्ने, कलात्मक वस्तुको निर्माण गर्ने, आध्यात्मिक पर्यटन र साहसिक खेलमा जोड दिने प्राथमिकतामा राखेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले साहसिक पर्यटनमा दक्ष जनशक्ति उत्पादनका लागि सङ्घ संस्थासँगको समन्वयमा तालिमको व्यवस्था मिलाउने, पदयात्रासम्बन्धी अनुमतिपत्रको झन्झटिलो व्यवस्थालाई अन्त्य गरी पर्यटनमैत्री एकद्वार प्रणाली व्यवस्था गर्नेलगायतका प्रतिबद्वता जनाएका छन् । 

नेपालको अर्थतन्त्रको प्रमुख आधार रहेको पर्यटन क्षेत्रलाई माथि उठाउनका लागि दलको नजर जानुपर्ने देखिन्छ । दलका घोषणापत्र र प्रतिबद्वतापत्रले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबाट तहसनहस भएको पर्यटन बजारलाई परेको असर, अर्बौं रकमको नोक्सानी र निरास पर्यटन व्यवसायीलाई उत्साह छर्न सकेको छैन । घोषणा गरेका प्रतिबद्वतासमेत निर्वाचनपश्चात् आझेलमा पर्ने विगतको परिपाटी रहँदै आएको छ । यस पटकको निर्वाचनमा दलहरूले आफूले गरेका प्रतिबद्वतालाई आत्मसात् गर्दै समृद्व नेपालको अभियानमा जुट्नुपर्ने आजको आवश्यकता हो ।