• १६ फागुन २०८२, शनिबार

लिखित उजुरी शून्य

निर्वाचन आचारसंहिता पालना प्रभावकारी

blog

रमेश पौडेल

पोखरा, फागुन १६ गते । कास्कीमा निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनसँगै आचारसंहिता उल्लङ्घनसम्बन्धी हालसम्म लिखित उजुरी परेको छैन । कास्कीका मुख्य निर्वाचन अधिकृत हिमलाल बेल्बासेले हालसम्म आचारसंहिता उल्लङ्घनका घटनामा लिखित उजुरी नपरेको जानकारी दिनुभयो । 

उहाँले फागुन २१ गते सम्पन्न हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबै राजनीतिक दलको सकारात्मक सहयोग रहेको बताउनुभयो । यद्यपि सडक क्षेत्रमा माइक चर्को बजाउने, पार्टीका गीत तथा जिङ्गलमार्फत ध्वनि प्रदूषण गर्ने विषयमा मौखिक उजुरी भने प्राप्त भइरहेको उहाँले बताउनुभयो । त्यस्ता उजुरीमाथि अनुगमन र आवश्यक समन्वय भइरहेको जनाइएको छ ।

प्रदेश निर्वाचन कार्यालय पोखराका प्रमुख नारायण ढकालले निर्वाचन आयोगको परिपत्र अनुसार ४६ जनाले निर्वाचन प्रयोजनका लागि बैङ्क खाता खोलेको र तीन जनाले अझै खाता नखोलेको जानकारी दिनुभयो । उहाँले तोकिएको समयभित्र सबै उम्मेदवारलाई कानुनी प्रक्रिया पूरा गर्न निर्देशन दिएको बताउनुभयो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले आचारसंहिताको के कति पालना भएको छ र उम्मेदवारले के कसरी प्रचार गरिरहेका छन् भनेर सुरक्षा निकायसहितको टोलीले ग्रामीण क्षेत्रमा समेत अनुगमन गरिरहेको बताउनुभयो । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत शिव लम्सालले सामाजिक सञ्जालमार्फत आचारसंहिताविपरीत गतिविधि गर्ने एक जनामाथि कारबाही गरिएको जानकारी दिनुभयो । 

सामाजिक सञ्जालमा आएका ५० भन्दा बढी गतिविधिबारे सम्बन्धित पक्षलाई सम्पर्क गर्दा स्वस्फूर्त रूपमा सामग्री हटाइएको उहाँको भनाइ छ ।

चुनावी घरदैलो निर्वाचन आयोगले तोकेको २५ जनाभन्दा बढी सहभागी भएको, मासुभात खुवाएको, टोपी, ब्यानर, टिसर्ट र साडी लगाएर प्रचारप्रसार गरिएको विषयमा मौखिक जानकारी आएपछि सचेत गराएपछि यस्ता गतिविधिमा कमी आएको र अनुगमन कार्यलाई भने निरन्तरता दिइएको स्पष्ट पार्नुभयो । निर्वाचन आयोग काठमाडौँबाट निर्वाचन अनुगमन गर्न आएका कानुन अधिकृत अरुण अधिकारीले निर्वाचनलाई मर्यादित र शान्तिपूर्ण बनाउन सम्बन्धित निकायले निगरानी तथा समन्वयलाई थप प्रभावकारी बनाएको र दलहरू पनि आचारसंहिताबारे सचेत रहेको बताउनुभयो ।

हिमाली क्षेत्रमा जानेलाई थप व्यवस्था

यस प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा रहेका जिल्ला म्याग्दी, गोरखा, मनाङ र मुस्ताङमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीलाई बोक्न मिल्ने अक्सिजन भाँडो र अन्य औषधीको व्यवस्था गरिने भएको छ ।

प्रदेश निर्वाचन कार्यालयका अनुसार मतदान स्थलसम्म पुग्न दुर्गम तथा हिमाली क्षेत्रका मतदातालाई सहजता मिलाउन तीन हजार मिटरभन्दा माथि पुग्ने कर्मचारी तथा सुरक्षाकर्मीलाई सो व्यवस्था गरिने भएको हो । तीन हजार मिटरभन्दा माथि रहेका केन्द्रमध्ये म्याग्दीमा एक, गोरखामा १५, मनाङमा १४, मुस्ताङमा २४ गरी जम्मा ५४ केन्द्र रहेका छन् । हिमाली क्षेत्रमा जाने मतपेटिका पठाउने कार्य सुरु भइसकेको र मनाङसहितका सबै जिल्लामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिइएको छ । प्रमुख ढकालका अनुसार मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको साङ्तागाउँ र मनाङको नार्पाभूमि गाउँपालिकाको नार र फूगाउँमा हिमपातका कारण मतदान केन्द्र सार्नुपर्ने विषयमा हाल मौसम न्यानो हुँदै आएको र बाटो खुलाएर सम्बन्धित मतदान केन्द्रमै मतदान गर्ने सहमति भएको जानकारी दिनुभयो ।

प्रदेश निर्वाचन कार्यालय पोखराले गण्डकी प्रदेशका ११ जिल्ला तथा निर्वाचन आयोगसँग समन्वय र सहकार्य गर्दै आगामी निर्वाचनको तयारीलाई तीव्रता दिएको कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार गण्डकी प्रदेशमा कुल मतदाता सङ्ख्या १८ लाख ७० हजार ६५ रहेका छन् । जसमध्ये महिला नौ लाख ५५ हजार ५१६ र पुरुष नौ लाख १४ हजार ५३५ रहेका छन् । 

प्रदेशभर एक हजार २९९ मतदान स्थल तथा दुई हजार ३९६ मतदान केन्द्र निर्धारण गरिएको छ । १८ निर्वाचन क्षेत्रमा ३० जना स्वतन्त्र उम्मेदवारसहित कुल २३४ जना उम्मेदवार रहेका छन् । जसमध्ये महिला २९ र पुरुष २०५ जना छन् । सबैभन्दा बढी १८ दलले कास्कीमा उम्मेदवारी दर्ता गराएका छन् भने सबैभन्दा कम मनाङमा तीन वटा दलले मात्र उम्मेदवारी दर्ता गराएका छन् ।

जनशक्ति व्यवस्थापन, कर्मचारी खटनपटन, मतदान अधिकृत तथा सहायक मतदान अधिकृतको तालिमसमेत सम्पन्न भएको कार्यालयले जनाएको छ । निर्वाचन कार्यालयका कर्मचारी आआफ्नो जिम्मेवारीप्रति प्रतिबद्ध भई निर्वाचन सफल बनाउन तयारी अवस्थामा रहेको उल्लेख गरिएको छ ।