विष्णुप्रसाद पोखरेल
दमक, फागुन १६ गते । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा भारतसँग सीमा जोडिएको झापाको दसगजा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। मेचीनगर, भद्रपुर र गौरीगन्जलगायतका सीमा नाकामा नेपाली सेनासहित सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ।
झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार नेपाल–भारत सीमा क्षेत्रमा चेकजाँच तथा चौबीसै घण्टा निगरानी बढाइएको छ। निर्वाचनको समयमा अवाञ्छित गतिविधि हुन नदिन आवश्यक सुरक्षा व्यवस्था मिलाइएको उहाँले बताउनुभयो।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तीन दिन अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरिने प्रमुख जिल्ला अधिकारी गेलालले जानकारी दिनुभयो। आउँदो सोमबार राति १२ बजेदेखि निर्वाचनको दिन बिहीबार राति १२ बजेसम्म झापासँग जोडिएका सबै अन्तर्राष्ट्रिय सीमा नाका बन्द रहने छन्।
झापासँग भारतका दुई राज्यको अन्तर्राष्ट्रिय सीमा जोडिएको छ। पश्चिम बङ्गालको दार्जिलिङ जिल्ला र बिहारको किशनगञ्ज जिल्लासँग झापाको सीमा जोडिएको छ। यस विषयमा भारतीय पक्षसँग विभिन्न चरणमा छलफल भएको प्रशासनले जनाएको छ। एम्बुलेन्सलगायत अत्यावश्यक सवारी साधन भने सुरक्षाकर्मीको अनुमति लिएर सञ्चालन गर्न पाइने छ।