• १६ फागुन २०८२, शनिबार

निर्वाचन सुरक्षाका लागि सीमानाका बन्द

blog

नेपाल–भारत जोड्ने झोलुङ्गे पुल । तस्बिर : कृष्णबहादुर धामी

खलङ्गा समाचारदाता

खलङ्गा (दार्चुला), फागुन १६ गते । प्रतिनिधि सभा सदस्य निर्वाचन सुरक्षाका लागि दार्चुलामा भारतसँग जोडिएका सीमानाका बन्द गरिने भएका छन् । भारतको उत्तराखण्ड प्रदेश अन्तर्गत पर्ने पिथौरागढ जिल्लासँग जोडिएका नेपालका दार्चुला जिल्लाका सीमानाका तीन दिन (७२) घण्टासम्मका लागि सिल गरिने दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी विनोद दाहालले जानकारी दिनुभयो । 

प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन भारतसँग जोडिएका यहाँका सबै सीमानाका बन्द गरिने उहाँले बताउनुभयो । निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र व्यवस्थित रूपमा सम्पन्न गराउन सीमानाका बन्द गरिनेबारे सूचना जारी गरी सबैलाई जानकारी गराएकोसमेत उहाँले बताउनुभयो । भारतसँग सीमानाका जोडिएका दार्चुलाको लेकम गाउँपालिका–३, लाली झोलुङ्गे पुल, मालिकार्जुन गाउँपालिका–६, बाँकुमा रहेको बाँकु झोलुङ्गे पुल, सोही गाउँपालिका–७ मा रहेको जोलजीवी झोलुङ्गे पुल, महाकाली नगरपालिका–९, दत्तुमा रहेको झोलुङ्गे पुल, महाकाली–४, खलङ्गामा रहेको झोलुङ्गे पुल, व्यास गाउँपालिका–६ मा रहेको बडूगाउँ झोलुङ्गे पुल, व्यास–५ मा रहेको तिग्रम झोलुङ्गे पुल, व्यास–४ मा रहेको मलघट्टे झोलुङ्गे पुल,  व्यास–२, मालघाटमा रहेको झोलुङ्गे पुल र व्यास–१ मा रहेको सीतापुल, काठेपुल बन्द रहने उहाँले जानकारी दिनुभयो । 

निर्वाचनलक्षित बन्द गरिने सीमानाकाबारे भारतीय सुरक्षा निकाय र स्थानीय प्रशासनलाई पनि जानकारी पठाएको उहाँले बताउनुभयो । यस्तै निर्वाचनलाई व्यवस्थित, मर्यादित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न फागुन १८ गते सोमबार राति १२ः०० बजेदेखि फागुन २१ गते बिहीबार मतदान कार्य सम्पन्न नभएसम्म दार्चुला जिल्लाभर कुनै पनि प्रकारका ड्रोन सञ्चालन गर्न पूर्ण रूपमा निषेध गरिएको उहाँले बताउनुभयो ।