• १६ फागुन २०८२, शनिबार

ताराखोलामा उच्चस्तरीय निर्वाचन सुरक्षासम्बन्धी अन्तरक्रिया

blog

बागलुङको ताराखोला गाउँपालिमा गरिएको उच्चस्तरीय निर्वाचन सुरक्षासम्बन्धी गरिएको अन्तरक्रिया । तस्बिर सौजन्य : पत्रकार खगेन्द्र विक

नवराज नेपाली
बागलुङ (गलकोट) फागुन १६ गते ।
बागलुङको ताराखोला गाउँपालिकामा उच्चस्तरीय निर्वाचन सुरक्षासम्बन्धी अन्तरक्रिया गरिएको छ ।

गृहसचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायण दत्त पौडेल, जिल्ला न्यायाधीश सीता शर्मा अधिकारी, ताराखोला गाउपालिका अध्यक्ष धनबहादुर विक, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य लगायतको उपस्थितिमा निर्वाचन सुरक्षासम्बन्धी अन्तरक्रिया गरिएको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले प्रतिनिधि सभा निर्वाचनको तयारी, सुरक्षा प्रबन्ध तथा समन्वय सम्बन्धी जानकारी गराउनुभएको थियो ।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बागलुङ जिल्ला सुरक्षा संवेदनशील क्षेत्रमा पर्ने उल्लेख गर्दै निर्वाचन अवधिभर उच्च सतर्कता अपनाउन निर्देशन दिनुभएको थियोे ।

उहाँले मतदान केन्द्रमा भित्री घेराको सुरक्षा मजबुत बनाउन, अपाङ्गता भएका मतदातालाई विशेष सहजीकरण गर्न तथा निर्वाचन विरोधी गतिविधि र शङ्कास्पद वस्तुका विषयमा सजग रहन आग्रह गर्नुभयो। सामाजिक सञ्जालमा फैलिन सक्ने अफवाहको निगरानी गर्नुपर्ने बताउँदै मतदाता ढुक्कका साथ मतदान केन्द्रसम्म पुग्ने वातावरण निर्माण गर्न जोड दिनुभयो ।

त्यस्तै, अवाञ्छित क्रियाकलापविरुद्ध कडा रूपमा प्रस्तुत हुने स्पष्ट पार्दै मतदान बक्स सिलबन्दी गरेपछि सुरक्षित रूपमा संरक्षण गर्नुपर्ने बताउनुभयो। सञ्चारकर्मीलाई तथ्यपरक सूचना सम्प्रेषण गर्न आग्रह गर्दै मतदान अधिकृतहरूलाई स्वच्छ, निष्पक्ष र पारदर्शी रूपमा काम गर्न निर्देशन दिनुभएको थियोे  ।

गृहसचिव राजकुमार श्रेष्ठले निर्वाचनलाई मर्यादित र शान्तिपूर्ण बनाउन खादा–माला जस्ता कार्यक्रम नगराउन सुझाव दिनुभएको थियोे ।

उहाँले मतदाताबीच हुन सक्ने झैझगडा तथा विवाद न्यूनिकरण गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण रहने बताउँदै मतदातामाथि कुनै प्रकारको दबाब वा कर नलगाउन आग्रह गर्नुभएको थियोे ।

कार्यक्रममा  उपस्थित सहभागीहरूले स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्न आ–आफ्नो क्षेत्रबाट पूर्ण रूपमा  सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियोे ।