• १६ फागुन २०८२, शनिबार

मान्म बजारमा मूल्यवृद्धि, उपभोक्ता मारमा

blog

मान्म बजार । तस्बिरः प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा 
कालीकोट, फागुन १६ गते ।
कालीकोटको सदरमुकाम मान्ममा दैनिक उपभोग्य वस्तुको मूल्य एकाएक बढेपछि उपभोक्ता मारमा परेका छन्। बजारमा खाने तेल, चामल, दाल, चिनी, साबुनलगायतका सामग्रीको मूल्य पछिल्लो केही सातादेखि क्रमशः बढ्दै गएको उपभोक्ताहरूले बताएका छन्।

बजारमा खाने तेलको मूल्य प्रति कार्टुन करिब दुई सय रुपियाँसम्म बढेको छ। बिरेन्द्र स्टोरका सञ्चालक जयप्रसाद न्यौपानेले खाने तेल आपूर्तिकर्ताबाटै महँगो आएपछि मूल्य बढाउनुपरेको बताउनुभयो। आफ्नो पसलमा चामल पुरानै मौज्दात भएकाले मूल्यवृद्धिबारे स्पष्ट जानकारी नभए पनि अन्य व्यापारीबाट प्रति बोरा करिब १५० रुपियाँसम्म बढेको सुनेको उहाँले बताउनुभयो।
अर्का व्यापारी जीवनकुमार शाहीले ढुवानी खर्च वृद्धि, अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्यवृद्धि तथा भन्सार दर समायोजनका कारण सामान महँगो भएको जानकारी आएको बताउनुभयो। “हामीले पनि बढेको मूल्यमा सामान किन्नुपरेको छ, त्यसैले खुद्रा मूल्य समायोजन गर्नुपरेको हो,” उहाँले भन्नुभयो, “घाटा खाएर व्यापार गर्न सकिँदैन।”

हाल प्रति पेटी खाने तेलमा दुई सयदेखि २२० रुपियाँसम्म वृद्धि भएको छ भने चामल र दालमा प्रतिकिलो करिब ६ रुपियाँसम्म मूल्य बढेको उपभोक्ताहरूको गुनासो छ। लगातारको मूल्यवृद्धिले मध्यम तथा न्यून आय भएका परिवारलाई दैनिक खर्च धान्न कठिन भएको उनीहरू बताउँछन्।

मान्म बजारमा लामो समयदेखि मिस्त्री काम गर्दै आएका दैलेखका जीवन रोकामगरले ज्याला लामो समयदेखि उही भए पनि उपभोग्य वस्तुको मूल्य भने बारम्बार बढ्ने गरेको बताउनुभयो। “हामी मजदुरलाई निकै समस्या छ। ज्याला बढ्दैन, तर बजारको सामान भने छिट्टै महँगो हुन्छ,” उहाँले भन्नुभयो। उहाँका अनुसार दक्ष मिस्त्रीले प्रतिदिन एक हजार र सहयोगीले आठ सय रुपियाँ ज्याला पाउने गरेका छन्।

उपभोक्ता अधिकारकर्मीहरूले बजार अनुगमन प्रभावकारी बनाउन तथा कृत्रिम अभाव सिर्जना गर्ने र मनोमानी मूल्य लिने व्यापारीमाथि कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

जिल्ला प्रशासन कार्यालयले भने निर्वाचनका कारण नियमित बजार अनुगमन हुन नसकेको जनाएको छ। उपभोक्ता मनिस गिरीले प्रशासन निर्वाचन व्यवस्थापनमै केन्द्रित हुँदा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि नियन्त्रणमा ध्यान नपुगेको गुनासो गर्नुभयो।

जिल्ला प्रशासन कार्यालयका बजार अनुगमन संयोजक सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माले निर्वाचनको व्यस्तताका कारण अनुगमन गर्न नसकिएको बताउँदै निर्वाचनपछि बजार अनुगमन गरिने जानकारी दिनुभयो।

अनुगमनका क्रममा मूल्यसूची टाँस नगर्ने, बिल नदिने तथा अस्वाभाविक मूल्यवृद्धि गर्ने व्यवसायीमाथि कानुनी कारबाही गरिने प्रशासनले जनाएको छ। साथै मूल्यवृद्धिबारे जानकारी दिन उपभोक्तालाई आग्रह गरिएको छ। उपभोक्ताले भने चाडपर्व र निर्वाचनजस्ता अवसरमा बजार मूल्य बढ्ने प्रवृत्ति दोहोरिने गरेको गुनासो गरेका छन्।