प्रकाशविक्रम शाह
कैलाली, फागुन १६ गते । सुदूरपश्चिमका कैलाली, कञ्चनपुर जिल्लामा दलहरूबिच आरोपप्रत्यारोपबिना नै चुनावी प्रतिस्पर्धा भइरहेको छ । विगतमा विभिन्न मुद्दा उठाएर राजनीतिक दलले एकअर्काको आलोचना गर्ने गरेका थिए । यस पटक भने त्यस्तो प्रचलन हटेको छ ।
कैलालीको लम्की बहुमुखी क्याम्पसका उपप्राध्यापक अमर रावलका अनुसार नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र मधेशी दल पनि विगतमा पटक पटक मिलेर सरकार बनाए त्यसैले एकअर्कालाई खुइल्याउन कठिन भएको छ ।
युवा वैज्ञानिक डा. जितेन्द्रप्रसाद उपाध्यायले भने अहिले जनताले विकासका विषयमा धेरै चासो राख्ने गरेकाले दलहरू पनि विकासकै मुद्दामा केन्द्रित रहेर चुनावी अभियानमा लागेको धारणा व्यक्त गर्नुभयो । नेपाली कांग्रेस कैलालीका सचिव केशव मिश्रले आफ्नो दल सकेसम्म कसैको आलोचना नगर्ने र आफ्नो चुनावी मुद्दा उठाएर अघि बढिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “गलत संस्कार हट्नु राम्रो कुरा हो । चुनावपछि पनि सहकार्य गर्नुपर्ने हुन्छ त्यसैले संयम भएर चुनावमा होमिनु नै उपयुक्त हो ।”
कैलालीका नागरिक अगुवा कर्ण रावल कैलालीका पाँच वटै क्षेत्रमा आरोपप्रत्यारोप नभएको बताउनुहुन्छ । उहाँले पहिले जस्ता आमसभा नहुनु, चुनाव हुने नहुने अनिश्चितताका कारण चुनावी माहोल ढिला सुरु भएकाले पनि चुनावमा गालीगलौज नभएको तर्क गर्नुभयो । कञ्चनपुरका तीन क्षेत्रमा पनि बल्ल चुनावी माहोल सुरु भएको छ । अधिकांश बस्तीमा आरोपप्रत्यारोप गरेर चुनावी प्रचार भएको छैन । एमाले कञ्चनपुरका सचिव पल्लवराज भट्टका अनुसार कञ्चनपुरको क्षेत्र नम्बर १ को एउटा वडामा एमालेको कार्यालय तोडफोड गरेकाले तीन जना रास्वपाका कार्यकर्ता पक्राउ परेका छन् । रास्वपाका केन्द्रीय सार्वजनिक विभागका सदस्य हरि रेग्मी आफ्ना कुरा मात्र राखेर जनताका बिचमा गएको बताउनुहुन्छ । धनगढी उपमहानगरपालिका–५ का राजकुमारी चौधरी विगतका चुनावभन्दा यस पटकको चुनाव आरोपप्रत्यारोपबिना नै भइरहेकाले मर्यादित लागेको बताउनुहुन्छ ।
धनगढीकै व्यवसायी तारानाथ ओझा भने एकअर्का दलविरुद्ध गालीगलौज, टीकाटिप्पणी सामाजिक सञ्जाल र त्यसमा पनि टिकटकमा छताछुल्ल भएकाले बाहिर टोल बस्तीमा कम देखिएको टिप्पणी गर्नुहुन्छ । उहाँले विगतमा टोल, गाउँबस्ती हुने आरोपप्रत्यारोपभन्दा निकै धेरै, अस्वाभाविक र गलत सूचना सामाजिक सञ्जालमार्फत गरेर व्यक्ति तथा नेताको सामाजिक जीवन नै बर्बाद हुनु दुःखद भएको चर्चा गर्नुभयो ।