टीकापुर समाचारदाता
टीकापुर, फागुन १६ गते । नागरिकले मत हालेका निर्वाचित जनप्रतिनिधि नै विभिन्न काण्डमा मुछिएपछि यस पटक कैलाली क्षेत्र नम्बर १ का मतदातामा खासै उत्साह छैन् ।
उम्मेदवारले कार्यकर्ता लिएर घरदैलो गरिरहे पनि आममतदाता भने अझै चुप छन् । पार्टी सदस्य दलकै पक्षमा र केही मतदाता नयाँ दललाई भोट दिने बताउँछन् । यहाँ उज्यालो नेपाल पार्टी, श्रम संस्कृति पार्टी, आमजनता पार्टी नयाँ छन् । अघिल्लो निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीका नामबाट चुनाव लडेको नागरिक उन्मुक्ति पार्टी नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि नयाँ दाबी गरिरहेका छन् ।
सङ्घीयतापछि २०७४ सालमा राष्ट्रिय जनता पार्टीबाट प्रतिनिधि सभा सदस्य निर्वाचित रेशमलाल चौधरीको पाँचबर्से कार्यकाल जेलमै बितेको थियो । २०७९ सालमा रेशम पत्नी रञ्जिता श्रेष्ठ प्रतिनिधि सभा कैलाली क्षेत्र नम्बर १ र रेशम पिता बर्दिया क्षेत्र नम्बर २ बाट विजयी भएपछि यस क्षेत्रका नागरिक धेरै आशावादी थिए । एकै घरका दुई जनाले प्रतिनिधि सभामा जाने अवसर पाएको र श्रेष्ठ भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री हुँदा पनि गुमनाम रहेको मतदाता दुर्गाप्रसाद जोशीको भनाइ छ ।
सुदूरपश्चिम प्रदेश सभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीबाट लक्ष्मणकिशोर चौधरी विजयी हुनुभएको छ । रञ्जिताले पोखराको लिचीबारी जग्गा दर्ता प्रयोजनका लागि घुस लेनदेन गरेको भनी अख्तियारले मुद्दा दायर गरेपछि पाँच लाख धरौटीमा छुट्नुभएको छ । प्रदेश सभा सदस्य लक्ष्मणकिशोर चौधरी सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन तथा वनमन्त्री भएका बेला जङ्गलको काठ उठाउने र बिक्रीमा कमिसन लिने अडियो बाहिरिएपछि मुख्यमन्त्रीले चौधरीलाई पदबाट बर्खास्त गरिएको थियो । जनताले भरोसा गरेर मत दिएका नेताको यो शैलीले विश्वास गुमाएको र मतदाताले पनि के गर्ने भन्ने अझै धारणा बनाई नसकेको जानकी गाउँपालिका–१ का खुसीराम चौधरी बताउनुहुन्छ ।
कैलाली–१ म नेकपाबाट त्रिलोचन भट्ट, नेकपा (माओवादी) बाट प्रकाश कठायत नेकपा (एमाले) बाट द्वारिकाप्रसाद न्यौपाने, नेपाली कांग्रेसबाट जनकराज चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लोकेन्द्र कुँवर, नेपाल मजदुर किसान पार्टीबाट सुनिता भण्डारा, जनमत पार्टीबाट भगतराम डगौराथारू, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कोमल ज्ञवाली, आमजनता पार्टी (एकल चुनाव चिह्न) बाट रूपाकुमारी चौधरी, नेकपाबाट रामलाल डगौराथारू, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट जनकराज शाह, श्रम संस्कृति पार्टीबाट विमलकुमार डगौरा, नेकपा (माओवादी) रामबहादुर विश्वकर्मा, उज्यालो नेपाल पार्टीबाट प्रदीपकुमार चौधरीलगायतका उम्मेदवार हुनुहुन्छ ।