• १६ फागुन २०८२, शनिबार

डिजिटल इकोनोमीका लागि रणनीतिक लगानी अपरिहार्य

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन १६ गते । लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले डिजिटल इकोनोमीबाट पर्याप्त लाभ लिन रणनीतिक लागानी अपरिहार्य रहेको बताउनुभएको छ । 

भारतमा आयोजित नेपाल–भारत टेक फोरम २०२६ लाई भर्चुअल सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले डिजिटल इकोनोमीमा व्यापाक सम्भावना रहेको बताउनुभयो । उहाँले उक्त सम्भावनालाई मूर्त रूप दिन योजनाबद्ध र दीर्घकालीन लगानी आवश्यक रहेको धारणा पनि व्यक्त गर्नुभयो । 

डिजिटल इकोनोमीका लागि नेपाल तयार रहेको उल्लेख गर्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले सरकारले डिजिटल नेपालको फ्रेमवर्कसहित विभिन्न कानुनी, नीतिगत तथा संस्थागत संरचना विकास गरेको जानकारी दिनुभयो । 

उहाँले आर्टिफिसियल इन्टेलिजेन्सलगायतका उदीयमान प्रविधिका पूर्वाधारका लागि आवश्यक ऊर्जा सस्तो दरमा उपलब्ध हुन सक्ने, प्रविधिमैत्री युवाशक्तिको सम्भावना, उच्च पहाडी तथा हिमाली क्षेत्रमा प्रकृतिक कुलिङ प्रणाली उपलब्ध हुन सक्ने भएकाले डेटा सेन्टर, आइटी पार्कलगायतका क्षेत्रमा लगानीका लागि नेपाल विश्वको आकर्षक गन्तव्य स्थल बन्न सक्ने धारणा व्यक्त गर्नुभयो । 

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले डिजिटल इकोनोमी, आइटी क्षेत्रलगायतमा लगानी वृद्धि गरी अधिकतम लाभ लिन नेपाल र भारत सरकारका साथै निजी क्षेत्रबिच व्यावसायिक तहमा समानान्तर र व्यवस्थित पहल आवश्यक रहेको बताउनुभयो । 

कार्यक्रममा भारतका विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावीर जी, भारतका लागि नेपालका राजदूत डा. शङ्कर शर्मा, नेपालका लागि भारतका पूर्वराजदूत मञ्जीवसिंह पुरीलगायत क्षेत्रका विज्ञहरूको सहभागिता थियो ।