सियोल, फागुन १५ गते । वर्षौदेखि विदेशी पर्यटक र प्रयोग कर्ताले भोग्दै आएको असुविधापछि दक्षिण कोरियाले गुगललाई देशको अत्यन्तै सटीक नक्सा डाटा विदेशी सर्भरमा निर्यात गर्न सशर्त अनुमति दिएको छ ।
सरकारले शुक्रबार गरेको निर्णयसँगै कोरियामा गुगल नक्सा पूर्ण रूपमा सञ्चालन हुने बाटो खुलेको मानिएको छ । भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार सरकारी अधिकारी र निजी विज्ञको समीक्षा पश्चात् गुगलको १:५,००० स्केलको विस्तृत म्यापिङ डाटा निर्यात गर्ने अनुरोध स्वीकृत गरिएको हो ।
तर उक्त अनुमति नेभिगेसन सेवाका लागि आवश्यक सीमित डाटामात्र स्थानान्तरण गर्न पाइने, उचाइ रेखाजस्ता संवेदनशील विवरण समावेश नगर्ने र थप सुरक्षा उपाय अपनाउने सर्तमा दिइएको मन्त्रालयले स्पष्ट पारेको छ । मन्त्रालयका अनुसार गुगलले पहिलो चरणमा डाटा दक्षिण कोरियाभित्रैका सर्भरमा प्रशोधन गर्नुपर्नेछ र त्यसपछि मात्र सरकारी स्वीकृति लिएर निर्यात गर्न पाउने छ ।
साथै, दक्षिण कोरियाली भूभागसँग सम्बन्धित सटीक निर्देशाङ्क हटाउन र गुगल अर्थ तथा स्ट्रिट भ्यूजस्ता समय-शृङ्खला सेवामा सैन्य तथा अन्य संवेदनशील स्थलका स्याटेलाइट र हवाई तस्बिर धमिलो (ब्लर) बनाउनुपर्ने माग पनि सरकारले राखेको छ । सरकारले गुगललाई नक्सा डाटा निर्यात सम्बन्धी विषय व्यवस्थापन गर्न दक्षिण कोरियामा एक अनुपालन अधिकारी नियुक्त गर्न निर्देशन दिएको छ ।
तोकिएका सर्त पालना नभए स्वीकृति निलम्बन वा रद्द गर्न सकिने मन्त्रालयले जनाएको छ । गुगलका सरकारी मामिला तथा सार्वजनिक नीतिका उपाध्यक्ष क्रिस टर्नरले इमेलमार्फत जारी वक्तव्यमा कम्पनीले ‘आजको निर्णयलाई स्वागत गरेको’ र ‘कोरियामा पूर्ण रूपमा कार्यशील गुगल नक्सा उपलब्ध गराउन स्थानीय अधिकारीसँग निरन्तर सहकार्य गर्ने अपेक्षा’ राखेको बताउनुभयो ।
यसअघि दक्षिण कोरियाले राष्ट्रिय सुरक्षा सम्बन्धी चिन्ता र संवेदनशील भौगोलिक जानकारी घरेलु सर्भरमै राख्नुपर्ने नीतिका कारण गुगलको विस्तृत डाटा निर्यात अनुरोध वर्षौसम्म अस्वीकार गर्दै आएको थियो । ती प्रतिबन्धका कारण दक्षिण कोरिया त्यस्ता थोरै देशमध्ये पर्दै आएको थियो जहाँ विश्वव्यापी रूपमा लोकप्रिय गुगल नक्साको प्रयोग सीमित थियो ।
फल स्वरूप, स्थानीय प्रयोग कर्ता प्रायः नाभर र काकाओ जस्ता स्वदेशी इन्टरनेट कम्पनीका सेवामा निर्भर रहँदै आएका थिए । आलोचकले भने ती प्रतिबन्धका कारण विदेशी आगन्तुकमा असन्तुष्टि बढेको र पर्यटन क्षेत्रमा नकारात्मक असर परेको तर्क गर्दै आएका थिए । दक्षिण कोरिया आफूलाई प्रमुख अन्तर्राष्ट्रिय यात्रा गन्तव्यका रूपमा स्थापित गर्न खोजिरहेका बेला गुगल नक्साको सीमित प्रयोगले प्रत्यक्ष असर पारेको हुन सक्ने उनीहरूको भनाइ थियो । रासस/एपी