गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन १५ गते । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले न्यूनस्तर तथा दूषित खाद्य पदार्थ उत्पादन र बिक्रीवितरण गर्नेविरुद्ध ६२ वटा मुद्दा विभिन्न जिल्ला प्रशासन कार्यालय र अदालतमा दायर गरेको छ । यीमध्ये २० वटा दूषित खाद्य पदार्थ, ३४ वटा न्यून गुणस्तर, चार वटा लेबलसम्बन्धी र चार वटा ऐनविपरीतका कार्यसँग सम्बन्धित रहेका विभागले जनाएको छ ।
विभागले बिहीबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार बजार अनुगमन, नमुना परीक्षण गरेकोमा २६ वटा नमुना प्रतिकूल भएको पाइएको छ । विभागले चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि पुस मसान्तसम्म एक हजार ४५२ वटा नमुना सङ्कलन गरिएकामा ९९९ वटाको विश्लेषण गरेको र २६ वटा (२.६ प्रतिशत) नमुना प्रतिकूल पाइएको जनाएको हो । विभागका महानिर्देशक डा. मोतिना वैद्यले प्रतिकूल पाइएका वस्तुमा दुध, प्रशोधित पिउने पानी, तेल तथा घिउ र मसलाजन्य पदार्थ रहेको जानकारी दिनुभयो ।
यस्तै विभागले यस अवधिमा अनुगमनमा उपभोग्य मिति समाप्त भएका र मापदण्ड नपुगेका २९ लाख चार हजार १५२ रुपियाँ बराबरको खाद्य पदार्थ जफत गरी नष्ट गरेको पनि जानकारी गराइएको छ । साथै कैफियत देखिएका बेकरी, पेय पदार्थ, र प्रशोधित पानीलगायतका वस्तुलाई १३ पटक बजारबाट फिर्ता गर्ने आदेशसमेत जारी गरिएको छ ।
विभाग र मातहतका ४३ वटा कार्यालयले खाद्य तथा दाना उद्योग, होटेल, रेस्टुरेन्ट, राजमार्गका होटेल र हाटबजारसमेत गरी ९०६ पटक निरीक्षण अनुगमन गरिएको जनाएको छ ।
विभागका महानिर्देशक वैद्यले नयाँ गुणस्तर मापदण्ड निर्धारण सरकारले परम्परागत नेपाली खाद्य पदार्थको गुणस्तर सुनिश्चित गर्न नयाँ मापदण्ड तोकेको जानकारी दिनुभयो । उहाँका अनुसार यस अवधिमा छुर्पी, मस्यौरा र रोल्ड ओट्सको अनिवार्य गुणस्तर मापदण्ड राजपत्रमा प्रकाशित गरेको छ । उहाँले यस अवधिमा गुन्द्रुकको मापदण्डका लागि समेत सिफारिस भइसकेको र ६० दिने समय सीमासहित विश्व व्यापार सङ्गठन (डब्लुएचओ) मा सूचना पठाएको जानकारी पनि उहाँले गराउनुभयो ।
यस्तै सो अवधिमा विषादी परीक्षण र आयातनिर्यात नियमन आयातित र आन्तरिक बजारमा उपलब्ध तरकारी तथा फलफूलमा जीवनाशक विषादीको अवशेष परीक्षणका लागि ३६ हजार १०८ नमुनाको द्रुत परीक्षण गरिएको छ । आयाततर्फ १७ हजार १७७ नमुना परीक्षण गर्दा १७ वटा र अर्धवार्षिक अवधिमा जम्मा १९ वटा नमुना प्रतिकूल पाइएको विभागले जनाएको छ । विभागका अनुसार यस अवधिमा आयातनिर्यात सहजीकरणका लागि नेपाल राष्ट्रिय एकद्वार प्रणालीबाट अनलाइन सेवा प्रदान गरिरहेको विभागले यस अवधिमा ८७३ वटा आयात अनुमतिपत्र जारी गरेको छ भने कागजात नपुगेका २२९ कन्साइन्मेन्ट अस्वीकृत गरेको छ ।
मोबाइल खाद्य प्रयोगशाला भ्यानमार्फत ६० पटक स्थलगत परीक्षण गरिएको भए पनि भदौमा भएको आन्दोलनका क्रममा विराटनगर र धनगढीका भ्यानमा क्षति पुगेकाले ती क्षेत्रमा सेवा प्रभावित भएको जानकारी विभागले दिएको छ ।