• १४ फागुन २०८२, बिहिबार

'पृथ्वी पथ'लाई आफ्नो मार्गदर्शक सिद्धान्त मान्ने एक मात्र राजनीतिक दल राप्रपा हो : लिङ्देन

blog

बिष्णुप्रसाद पोखरेल

दमक, फागुन १४ गते । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वीनारायण शाहले प्रतिपादन गरेको राष्ट्रिय एकता, स्वाधीनता, आत्मनिर्भर अर्थतन्त्र र विदेशी हस्तक्षेपप्रति सचेत रहने नीतिबोक्ने पार्टी आफूहरुको मात्र भएको बताउनुभएको छ । लिङ्देन झापामा निर्वाचन सम्बन्धि कार्यक्रमहरुमा व्यस्त रहनुभएको छ ।

उहाँले आफ्ना निर्वाचन कार्यक्रमहरुमा यस विषयमा बोल्दै आफूहरुमात्र फरक विचारधारा बोकेको पार्टी भएको दाबी पनि गर्दै आउनुभएको छ । लिङ्देनले “पृथ्वी पथ” लाई राष्ट्रवाद, राजसंस्था र हिन्दुराष्ट्रको वैचारिक आधारका रूपमा व्याख्या गर्दै नेपालको स्थायित्व र पहिचानका लागि ती मूल्यमान्यताहरू आवश्यक रहेको बताउँदै आउनुभएको छ ।

“राप्रपा बडामहाराजाधिराज पृथ्वीनारायण शाहलाई आफ्नो आदर्श पुरुष र दिव्य उपदेश “पृथ्वी पथ” लाई आफ्नो मार्गदर्शक सिद्धान्तका रूपमा अङ्गीकार गरेको एक मात्र राजनीतिक दल हो ।” उहाँले विहिबार विहानै सामाजिक सञ्जाल फेसबुकमा पनि लेख्नुभएको छ । उहाँले वर्तमान राजनीतिक व्यवस्थाले अपेक्षित स्थिरता र सुशासन दिन नसकेको आरोप लगाउँदै राप्रपाले वैकल्पिक राजनीतिक धार तथा नयाँ विकल्प प्रस्तुत गरिरहेको दाबी गर्नुभयो ।

झापा क्षेत्र नं. ३ मा प्रतिनिधि सभा सदस्य उम्मेद्वार रहनु भएका लिङ्देनसँग नेपाली काँग्रेसका राजेन्द्र घिमिरे, नेकपा एमालेका हरि राजवंशी, रास्वपाका प्रकाश पाठक लगायतका उम्मेद्वारहरु प्रतिस्पर्धामा रहनुभएको छ ।