• १४ फागुन २०८२, बिहिबार

असहज परिस्थितिमा निर्वाचन सुनिश्चित, देशलाई निकास दिन निर्वाचन नै विकल्प : संयोजक दाहाल

blog

नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ।

काठमाडाैं, फागुन १४ गते । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले मुलुकको वर्तमान असहज परिस्थितिलाई सहज निकास दिन फागुन २१ गतेको निर्वाचन अपरिहार्य रहेको बताउनुभएको छ । 

निर्वाचन परिचालन समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले थुप्रै संशय र विवादका बीच निर्वाचन सुनिश्चित भएको र यसले राष्ट्रलाई नयाँ दिशा दिने विश्वास व्यक्त गर्नुभएको हो। 

संयोजक दाहालले जेनजी आन्दोलन र त्यसपछिका घटनाक्रमलाई स्मरण गर्दै आजको सन्दर्भमा निर्वाचन नै देशका लागि तुलनात्मक रूपमा सहज निकास भएको उल्लेख गर्नुभयो । निर्वाचन सम्पन्न हुन अब एक हप्ता मात्र बाँकी रहेको अवस्थामा सिङ्गै राष्ट्र निर्वाचन प्रक्रियामा होमिएको उहाँको भनाइ छ । दाहालले यो निर्वाचन कुनै सामान्य वा नियमित प्रक्रिया नभई विशेष र असहज परिस्थितिमा आइलागेको चुनौती भएको बताउनु भयो । दाहालले निर्वाचनलाई सफल पार्नु समाजका सबै तह र तप्काको साझा जिम्मेवारी भएकोमा जोड दिनुभयो । 

उहाँले भन्नुभयो, ‘संशय र विवाद र बहस हुँदै अन्ततः हामी अब फागुन २१ गतेको नजिकै आइपुगेका छौँ र निर्वाचन अब सुनिश्चित भएको छ । हाम्रो पार्टीले सुरुदेखि नै जेन–जी आन्दोलन २३ को र २४ को घटनाक्रम हेरिसकेपछि आजको यो परिस्थितिमा देशलाई तुलनात्मक रुपले सहज निकास दिन सक्ने भनेको निर्वाचन नै हो भनेर भनेका थियौँ । र केही उतारचढाव हुँदै अहिले अब सिङ्गै राष्ट्र नै निर्वाचन प्रक्रियामा संलग्न भइसकेको छ । र १ हप्ता मात्रै बाँकी छ निर्वाचन सम्पन्न हुन । त्यस्तो परिस्थितिमा हामीले यो पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेका थियौँ । सबैभन्दा पहिला त म लामो व्याख्या भन्दा पनि यो निर्वाचन कुनै सहज परिस्थितिको नियमित निर्वाचन होइन । असहज परिस्थितिमा आइलागेको एउटा निर्वाचनमा हामी सहभागी हुँदैछौँ । र यसलाई सफल पार्नु हामी सबैको, समाजका सबै तहतप्काको जिम्मेवारी हुन आएको छ र अब करिव अब निर्वाचन सम्पन्न हुने दिशातिर अगाडि बढेको छ । र यो पटकको निर्वाचनमा देखिएका राजनीतिक प्रवृत्तिको दृष्टिकोणले कुरा गर्न आवश्यक छ भन्ने हामीलाई लाग्छ ।’

उहाँले यस पटकको निर्वाचनमा देखिएका राजनीतिक प्रवृत्तिहरूको गम्भीर विश्लेषण आवश्यक रहेको समेत बताउनुभयो ।