• १४ फागुन २०८२, बिहिबार

सुदूरपश्चिमका महत्वपूर्ण आयोजना पूरा गर्न मेरो उम्मेदवारी : उपमहासचिव भट्ट

blog

भट्ट यस क्षेत्रबाट यसअघि दुई पटक संघीय सांसदमा निर्वाचित भई मन्त्री समेत भइसकेका छन्। उम्मेदवारसँग प्रेस चौतारी कार्यक्रममा बोल्दै भट्ट । तस्बिर : नीराजन परियार

नीराजन परियार

चौमाला (कैलाली),फागुन १४ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव लेखराज भट्टले सुदूरपश्चिमका महत्वपुर्ण अधुरा आयोजनालाई पूर्णता दिन आफ्नो उम्मेदवारी रहेको बताउनुभएको छ ।  

कैलाली–४ बाट प्रतिनिधि सभाका उम्मेदवार समेत रहेका भट्टले आफ्नो उम्मेदवारी कैलालीको लागि मात्र नभएर समग्र सुदूरपश्चिम र राष्ट्रकै निमित्त भएको बताउनुभएको हो । 

बिहिबार कैलालीको अत्तरियामा प्रेस चौतारीसँग उम्मेदवार कार्यक्रममा बोल्दै उहाँले सुदूरपश्चिमको भविष्यसँग जोडिएको दैजी–छेला औद्योगिक क्षेत्र, सुख्खा बन्दरगाह, महाकाली करिडोर, सेती लोकमार्ग, धनगढी–खुटिया–दिपायल–उरै भञ्याङ सडक, लालपुर–हरैया विशेष आर्थिक निर्माण जस्ता आयोजनाको काम अघि बढाउन आफु मात्र सक्ने बताउनुभयो। 

विगतमा कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा निर्वाचित भएर मन्त्री हुँदा सुदूरपश्चिममा आफूले यी थुप्रै कामहरु अघि सारेको उल्लेख समेत गर्नुभयो । 

कैलाली–४ मा आफ्नो प्रतिस्पर्धा नेपाली कांग्रेससँगै हुने बताउँदै उहाँले अन्य प्रतिस्पर्धीलाई पनि कमजोर ठान्न नहुने उल्लेख गर्नुभयो । लोकतन्त्रमा हरेक प्रतिस्पर्धी सम्मानका पात्र भएको बताउदै विकासका मुद्दामा मतदाताले सही निर्णय गर्नेमा विश्वस्त रहेको बताउनुभयो । 

उहाँले एमालेले गरेका सकारात्मक काम र उपलब्धिहरू जनतासमक्ष पुर्‍याउन घरदैलो अभियान सञ्चालन भइरहेको बताउनुभयो ।  प्रदेशको राजधानीको गोदावरीमा सार्ने निर्णय लामो अध्ययन र छलफलपछि दुई तिहाइ प्रदेश सभाबाट पारित गरिएको र कार्यान्वयन हुन नदिन विभिन्न प्रयासहरू भएको उल्लेख गर्दै अब त्यसलाई प्रभावकारी रूपमा अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो ।