नेत्र शाही
सिँजा (जुम्ला), फागुन १४ गते । दसैँतिहार सकिएलगत्तै रोजगारीको खोजीमा जिल्लाबाहिर गएका सर्वसाधारण अहिले धमाधम घर फर्किन थालेका छन् । २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्न उनीहरू गाउँ फर्किएका हुन् ।
रोजगारीका लागि भारतलगायत विभिन्न सहर पुगेका युवा निर्वाचन नजिकिँदै जाँदा घर फर्किन थालेपछि गाउँघरमा फेरि चुनावी चहलपहल बढेको छ । जुम्लाका ग्रामीण भेगबाट ठुलो सङ्ख्यामा नागरिक कामको सिलसिलामा बाहिरिने प्रचलन छ । विशेष गरी सिँजा क्षेत्र अन्तर्गतका हिमा गाउँपालिका, सिँजा गाउँपालिका र कनकासुन्दरी गाउँपालिकाबाट हरेक वर्ष सयौँ युवा व्यापार, मजदुरी तथा अन्य रोजगारीका लागि जिल्लाबाहिर जाने गर्छन् । गाउँमा सीमित रोजगारीका अवसर, कृषि उत्पादनमा निर्भरता र आयआर्जनको अभावका कारण ‘कालापहाड’ जाने चलन बर्सौंदेखि कायम छ ।
हिमा गाउँपालिकाका स्थानीय प्रयोग आचार्यका अनुसार कामको सिलसिलामा जिल्लाबाहिर बसेका नागरिक अहिले मतदान गर्न गाउँ फर्किरहेका छन् । निर्वाचन नजिकिँदै जाँदा बाहिर रहेका युवा धमाधम फर्किरहेको उहाँको भनाइ छ । पहिले गाउँमा महिला, बालबालिका र ज्येष्ठ नागरिक मात्र देखिन्थे, अहिले फेरि गाउँमा चहलपहल बढेको छ । मतदाता फर्किएसँगै गाउँ गाउँमा चुनावी माहोल तातेको छ । उम्मेदवारले घरदैलो अभियानलाई तीव्र बनाएका छन् । पहिले गाउँकेन्द्रित सभा, कोणसभा र आमसभामा केन्द्रित प्रचार अहिले घरदैलो भेटघाटमा सीमित भएको स्थानीयको भनाइ छ । दलका प्रतिनिधि र उम्मेदवार बिहानैदेखि साँझसम्म मतदाताको घरदैलोमा पुगेर आफ्ना एजेन्डा प्रस्तुत गरिरहेका छन् ।
स्थानीयका अनुसार मतदाता यस पटक निकै सचेत र उत्साहित देखिएका छन् । उनीहरू विकास, रोजगारी, सडक, शिक्षा र स्वास्थ्यका विषयमा स्पष्ट धारणा राख्दै उम्मेदवारसँग प्रत्यक्ष प्रश्नसमेत गरिरहेका छन् । विगतमा दिएको प्रतिबद्धता पूरा भए/नभएको विषयमा समेत मतदाताले चासो देखाउन थालेका छन् । जुम्लामा एक नगरपालिकासहित सात गाउँपालिकाका ६० वटै वडाका नागरिक रोजगारीको खोजीमा कालापहाड जाने प्रचलन छ । विशेष गरी युवापुस्ता भारतका विभिन्न सहरमा मजदुरी तथा व्यापारमा संलग्न हुने गरेका छन् तर निर्वाचन जस्तो महत्वपूर्ण लोकतान्त्रिक प्रक्रियामा सहभागी हुन उनीहरू घर फर्कन थालेका हुन् ।
तिला गाउँपालिकाका देवबहादुर थापाका अनुसार यस पटक जिल्लामा विकासनिर्माणलाई गति दिने, रोजगारी सिर्जना गर्ने र सबै समुदायलाई समेटेर अघि बढ्ने नेतृत्व चयन गर्नुपर्ने आवश्यकता रहेको छ । उहाँका अनुसार काम गर्न सक्ने, इमानदार र सबैलाई मिलाएर लैजाने जनप्रतिनिधि चाहिएको छ । मजदुरीकै भरमा जीवनयापन गरिरहेको भए पनि छोराछोरी र नातिनातिनाको भविष्य राम्रो होस् भन्ने आशाका साथ मतदान गर्न घर फर्किएको उहाँको भनाइ छ । गाउँ फर्किएका मतदाताको उपस्थिति बढेसँगै चिया पसल, चौतारा र गाउँका आँगनमा चुनावी बहस सुरु भएको छ ।