• १४ फागुन २०८२, बिहिबार

दलहरूका पुरानै वाचा

blog

सुरेश धामी

बझाङ, फागुन १४ गते । प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा बझाङका सबै राजनीतिक दल र उम्मेदवार घरदैलो, सार्वजनिक सभा र विभिन्न प्रचार माध्यममार्फत मतदातासँग प्रत्यक्ष भेटघाटमा जुटेका छन् ।  उम्मेदवारले अझै पनि पुराना चुनावी मुद्दा र वाचाको भरमा आफ्नो प्रचार रणनीति निर्माण गरेका छन् । 

नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका दलका उम्मेदवारले फरक फरक क्षेत्रका मुद्दा उठाए पनि सडक, यातायात, खेलकुद र सञ्चार जस्ता पुराना एजेन्डा सबैले मुख्य प्राथमिकताका रूपमा समेटेका छन् । दलहरूले विगतका निर्वाचनमा प्राथमिकता दिएका सडक, यातायात, स्वास्थ्य, शिक्षा र खेलकुद क्षेत्रका मुद्दा यस पटक पनि चुनावी मुख्य एजेन्डा बनाएका छन् । 

सेती लोकमार्ग अन्तर्गत चीन जोड्ने ताक्लाकोट सडक निर्माण तीव्र गतिमा अगाडि बढाएर  सडक  सञ्चालन गर्ने, जयपृथ्वी राजमार्ग स्तरोन्नति गरेर सुरक्षित, फराकिलो र दिगो बनाउने विषय समेटिएको छ । दुर्गम बस्ती र गाउँ गाउँमा यातायात पहुँच सुधार गर्ने दीर्घकालीन समाधानका लागि सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने, जिल्लामा सुविधासम्पन्न खेल मैदान निर्माण गर्ने र सञ्चार सेवा प्रभावकारी बनाउने मुद्दा सबै दलका मुख्य प्रतिबद्धतापत्रमा समेटिएका छन् । केही दलले प्रतिबद्धतापत्र सार्वजनिक नगरे पनि भोट माग्न जाँदा मुख्य यिनै कुरा उठाउने गरेका छन् । 

तिब्बतको ताक्लाकोटसम्म सडक निर्माण 

चैनपुर ताक्लाकोट नाका खोल्ने र सडक निर्माणलाई छिटो सम्पन्न गर्ने काम पहिलो प्राथमिकतामा हुने छ । प्रत्येक निर्वाचनमा मुख्य चुनावी मुद्दाका रूपमा लिएको सुदूरपश्चिम प्रदेशकै समृद्धिको ढोका मानिएको तिब्बतको ताक्लाकोटसम्म सडक सञ्जाल निर्माणको वाचा २०७४ र २०७९ सालको निर्वाचनमा पनि नेताले चुनावी एजेन्डा बनाएका थिए । यद्यपि नेताले चुनावका बेला दिएको भाषण केवल आश्वासनमै सीमित भएको छ । सडक निर्माणको भौतिक प्रगति एकदमै सुस्त छ । 

बझाङको उरैभन्ज्याङसँग जोडिएको पुरानो व्यापारिक नाका तिब्बतको ताक्लाकोटसम्म सडक सञ्जाल नभएका कारण नाका पनि खुल्न सकेको छैन । सडक सञ्जालमा जोडिए चीनसितको अन्तर्राष्ट्रिय व्यापार तथा पर्यटकीय नाका हुने र पश्चिम नेपालकै अर्थतन्त्रमा नयाँ ढोका खुल्ने सुदूरपश्चिमका बासिन्दाको सपनालाई यहाँका सबै जसो नेताले चुनावका बेला राम्रैसँग उछाल्ने गरेको साइपाल गाउँपालिकाका स्थानीय दीपक बोहोराले बताउनुभयो । 

नेताले चैनपुर–ताक्लाकोट सडक खुले चीनसितको व्यापार खुल्ने र चीनको चर्चित धार्मिक स्थल कैलाश मानसरोवरसम्म आउजाउ गर्न मुलुककै प्रमुख पर्यटकीय मार्ग बन्ने नाराले मतदाता आकर्षित गरिरहन्छन् । सो कुरा प्रत्येक चुनावमा चुनावी एजेन्डामै सीमित हुने गरेको छ । 

जयपृथ्वी राजमार्ग स्तरोन्नति

राजमार्गलाई सुरक्षित, फराकिलो र दिगो बनाउने आश्वासन पनि प्रत्येक चुनावमा दोहोरिन्छ । दुर्गम बस्ती र गाउँ गाउँमा यातायात पहुँच सुधार्ने वाचासमेत उठाइन्छ तर वर्तमान अवस्थामा केदारस्युँ गाउँपालिकाको बागथलादेखि सदरमुकाम चैनपुर पुग्ने एक घण्टाको यात्रा पाँच घण्टा लगाएर गर्नुपर्ने बाध्यता छ । खाल्टाखुल्टी, हिलाम्मे सडक र धुलाम्मे बाटोले जनताको भोक, रोग र समयको मूल्य अझ बढाएको छ । 

यो जिल्लाको सदरमुकाम जोड्ने मुख्य राजमार्ग चुनावी मुद्दा बने पनि अवस्था दयनीय छ । वर्षामा पहिरो जाने, माथिबाट ढुङ्गा खस्ने समस्याले दैनिक जसो सडक अवरुद्ध हुने गरेको छ । 

सुविधायुक्त खेल मैदान निर्माण 

खेल मैदान निर्माण पनि प्रत्येक चुनावको मुख्य एजेन्डा बन्ने गरेको छ । बझाङमा उपयुक्त खेल मैदान नहुँदा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितालगायतका विभिन्न खेल अझै पनि सडकमा तथा खेतमा खेलाउनुपर्ने अवस्था रहेको बझाङ जिल्ला खेलकुद समिति सदस्य हिक्मत धामीले बताउनुभयो । 

जिल्लाका अधिकांश पालिकामा खेल मैदान निर्माणाधीन छन् तर कतिपय मैदान प्राविधिक रूपले खेल सञ्चालन योग्य छैनन् । कतिपय मैदान बस्तीभन्दा टाढा छन् र कतिपयमा पूर्वाधार अपूर्ण छ । राज्यकोष खर्च हुने भए पनि खेल मैदानकै अभावका कारण स्थानीय युवाले खेलकुदमा सक्रिय भाग लिन अझै असहज हुने गरेको बताएका छन् । खेल मैदान बनाउन बर्सेनि करौडौँ खर्च हुने गरेको भए पनि निर्माण समितिको मनोमानी तथा अध्ययन नै नगरेर अनावश्यक खर्च गरिनुले उपयुक्त खेल मैदान निर्माण गर्न नसकिएको खेलकुद समिति अध्यक्ष पुष्पलाल रोकायाले बताउनुभयो । 

सञ्चारको सुविधा 

सडक, यातायात जस्ता अन्य चुनावी एजेन्डा जस्तै सञ्चार सुधारको वाचा पनि विगत निर्वाचनदेखि नेताहरूले गर्दै आएका छन् तर वास्तविक सुधार भने देखिँदैन । गाउँ गाउँमा नेटवर्कको पहुँच विस्तार हुन सकेको छैन, यसले शिक्षा, व्यवसाय र स्वास्थ्य सेवासम्म पुग्न कठिन बनाइरहेको छ । बझाङमा जिल्लाका धेरै भेगमा मोबाइल नेटवर्क कमजोर छ । टावर सौर्य ऊर्जाबाट सञ्चालन भएकाले पानी परे वा बादल लाग्दा नेटवर्क ठप्प हुन्छ । यसले गर्दा स्थानीयले फोन कल गर्नै नसक्ने समस्या भोग्नु परेको छ । 

स्थानीय दीपा धामीले भन्नुभयो, “नेताले टावर बनाउने फोरजी सेवा विस्तार गर्ने वाचा त दिन्छन् तर फोन कल गर्न सक्ने अवस्था पनि आउँदैन । विद्यालय, स्वास्थ्य चौकी र स्थानीय प्रशासनसँग सम्पर्क गर्न पनि समस्या पर्छ ।” चुनावका बेला मात्र वाचा दिने प्रवृत्ति हुँदा समस्या यथावत् रहेको उहाँको भनाइ छ । स्थानीयका अनुसार देव धामीका अनुसार प्रत्येक दल र उम्मेदवारले उठाएका मुद्दा कार्यान्वयनको पक्षमा अझै कमजोर छन् । सडक निर्माण, राजमार्ग स्तरोन्नति, खेलकुद पूर्वाधार जस्ता एजेन्डा केवल भाषणमा सीमित भएको अनुभूति दिन्छ । 

धामीले भन्नुभयो, “हामी अब केवल वाचामा विश्वास गर्दैनौँ । जनतालाई वास्तविक काम, ठोस परिणाम र इमानदार नेतृत्व चाहिन्छ । पुराना वाचाको दोहो¥याइले उहाँहरूको विश्वास कमजोर बनाएको छ । पुरानै चुनावी एजेन्डा कार्यान्वयन नहुनुले स्थानीयलाई असन्तुष्टि पैदा गरेको छ ।” 

बझाङबाट एमालेका ऐन महर, कांग्रेसका प्रकाश रसाइली स्नेही, नेकपाका मीनबहादुर कुँवर र रास्वपाका शैलेश सिंहबिच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।