• १४ फागुन २०८२, बिहिबार

गुल्मीमा निर्वाचनको अन्तिम तयारी : चुस्त सुरक्षा व्यवस्था

blog

परिचालनको तयारीमा निर्वाचन प्रहरी । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुङ्गा(गुल्मी), फागुन १४ गते ।
गुल्मीमा निर्वाचनको सबै तयारी पूरा भएको छ । निर्वाचनलाई स्वच्छ र भयरहित बनाउन जिल्ला स्तरीय एकीकृत सुरक्षा योजना निर्माण गरेर कार्यान्वयन गरिएको छ । सुरक्षा संवेदनशीलताका आधारमा अति संवेदनशील ४८ संवेदनशील ५७ र सामान्य ४० रहेका छन् । नेपाल प्रहरीतर्फ एक हजार ६९५ र सशस्त्र प्रहरी तर्फ १७९ निर्वाचन प्रहरी छनोट भएर तालिम सञ्चालन सकेर परिचालन भएका छन् ।

जिल्ला कमाण्ड पोष्ट तथा निर्वाचन सेल गठन, सबै सुरक्षा निकायहरुमा निर्वाचन सेल स्थापना र नियमित बैठक भइरहेको जिल्ला सुरक्षा समितिका संयोजक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिनुभयो । मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालयहरुको सुरक्षा व्यवस्थापन, जिल्ला कारागार तथा विमानस्थलको सुरक्षा जिम्मेवारी नेपाली सेनाबाट भएको छ ।

नेपाली सेना अहिलेसम्म कुल १० ठाउँमा परिचालन भएको छ । सशस्त्र प्रहरी बलका निर्वाचन सुरक्षा बेश दुई, स्ट्राइकिङ्ग छ, मोवाइल टोली १६, निर्वाचन कार्यालय सुरक्षा तीनसहित कुल २७ युनिट परिचालनको योजना रहेको प्रमुख जिल्ला अधिकारी गैह्रेले बताउनुभयो । मतदानस्थलको संवेदनशीलता अनुसार नेपाल प्रहरीका २४ वटा मोबाइल टिम परिचालन हुनेछन् ।

अनुमति प्राप्त हातहतियार स्थानीय प्रहरी चौकीहरु मार्फत ६४ थान सङ्कलन भएका छन् । जेन जी आन्दोलनका क्रममा विभिन्न कारागारबाट फरार दुई जना कैदी पक्राउ परेका छन् । सबै सुरक्षा निकायहरुको संयुक्त गस्तीहरु सञ्चालन भएको गैह्रेले बताउनुभयो ।

जिल्लामा क्रियाशिल राजनीतिक दलबाट २० जना र स्वतन्त्र २३ जना उम्मेदवारबाट मनोनयन दर्ता भएको छ । मतगणनाका लागि स्थान पहिचान र तयारी भएको छ । मतदान अधिकृत र सहायक मतदान अधिकृतको तालिम सकिएको छ । निर्वाचनमा कुल एक हजार ७०८ जना कर्मचारी तथा सहयोगी र जिल्लाभर ८४६ जना स्वयंसेवक परिचालन हुने जिल्ला निर्वाचन कार्यालय गुल्मीका निर्वाचन अधिकारी क्रृषि घिमिरेले जानकारी दिनुभयो ।

मतदान र मतगणना व्यवस्थापनका लागि आवश्यक पर्ने मतपत्रसहितका सामग्रीहरु निर्वाचन आयोगबाट प्राप्त भएका छन् । मतपेटिका ढुवानी, सुरक्षा गस्ती तथा मोबाइल टोलीका लागि आवश्यक सवारी साधनहरु व्यवस्थापनका लागि गृह कार्य भइरहेको घिमिरेले बताउनुभयो । अधिकांश मतदानस्थल राम्रा भएको र समस्या देखिएकामा मर्मतको काम गरिएको छ ।

सामाजिक सञ्जाल नियमनका लागि जिल्ला प्रहरी कार्यालयमा दुई जना जनशक्तिसहितको डेस्क स्थापना गरी कार्य भइरहेको छ । जिल्लाका १४५ मतदानस्थलमा स्वास्थ्यकर्मीसहित प्राथमिक उपचार डेस्क स्थापना गरिने सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैह्रेले बताउनुभयो । गैह्रेका अनुसार मतदानस्थलमा हुने आकस्मिक घटनाका लागि उपचार गर्न जिल्लामा छुट्टै निर्णय गरेर उपचार कक्ष राखिएको हो ।

दुई मतदान केन्द्रमा महिला मात्रै 
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा जिल्लाका दुई वटा मतदान केन्द्रको नेतृत्व महिलाहरूले गर्ने भएका छन् । रेसुङ्गा नगपालिका‐८ स्थित सिद्धबाबा माध्यमिक विद्यालय को ‘क’ केन्द्र र रेसुङ्गा नगपालिका‐५ स्थित जनसहयोग माध्यमिक विद्यालयको ‘ख’ केन्द्र रहेका छन् । यी दुई मतदान केन्द्रमा सुरक्षकर्मीहरु सहित सम्पूर्ण कर्मचारी महिला परिचालन गरिएको मुख्य निर्वाचन अधिकृत कार्यालय गुल्मीका सहायक मतदान अधिकृत कृष्णप्रसाद भट्टराईले जानकारी दिनुभयो । सिद्धबाबा माध्यमिक विद्यालय को ‘क’ केन्द्रमा मतदान अधिकृत सृजना मिश्र र रेसुङ्गा नगपालिका‐५ स्थित जनसहयोग माध्यमिक विद्यालयको ‘ख’ केन्द्रमा पुष्पा रायमाझी रहनुभएको छ । यो एउटा नयाँ अभ्यास हो ।