• १३ फागुन २०८२, बुधबार

चुनावी प्रतिस्पर्धामा समाजसेवी पहिचान : सुखदुःखमा सहारा बन्ने प्रतिबद्धता

blog

झापा, फागुन १३ गते । झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार लक्ष्मीप्रसाद सङ्ग्रौला यतिबेला घरदैलो अभियानमा व्यस्त हुनुहुन्छ। सामाजिक अभियन्ताको पहिचान बनाउनुभएका सङ्ग्रौलालाई स्थानीय बासिन्दाले मानवीय संवेदना भएका व्यक्तिका रूपमा लिने गरेका छन्।

सङ्ग्रौला राजनीतिक उम्मेदवारका रूपमा मात्र नभई गरिब र निमुखाको उपचार तथा सहयोगमा अग्रसर रहने समाजसेवीका रूपमा समेत परिचित हुनुहुन्छ। आर्थिक अभावका कारण उपचार रोकिएका बिरामीलाई व्यक्तिगत पहलमा अस्पताल पुर्‍याउने, औषधि खरिदमा सहयोग गर्ने र उपचार खर्चको व्यवस्थापन मिलाउने गरेको स्थानीय बासिन्दा बताउँछन्।

विशेष गरी मिर्गौला पीडितको उपचार खर्च जुटाउने, आकस्मिक दुर्घटनामा रगत र एम्बुलेन्सको व्यवस्था गर्ने तथा जटिल अवस्थाका सुत्केरीको उद्धार गर्ने कार्यमा उहाँ सक्रिय रहँदै आउनुभएको छ।

सङ्ग्रौलाले स्वास्थ्यका अतिरिक्त शिक्षा क्षेत्रमा समेत योगदान पुर्‍याउँदै आउनुभएको छ। विपन्न तथा जेहेन्दार विद्यार्थीको शैक्षिक शुल्क तिर्ने, विद्यालय सामग्री वितरण गर्ने र समस्यामा परेका परिवारलाई खाद्यान्न सहयोग गर्ने काममा उहाँको संलग्नता रहँदै आएको छ। चुनावी नाराभन्दा बाहिर मानवीय संवेदनशीलतालाई उहाँले आफ्नो मुख्य पहिचान बनाउनुभएको छ।


"नेता धेरै देख्यौँ, तर बिरामीको ओछ्यानमै पुगेर साथ दिने मान्छे कमै हुन्छन्," स्थानीय मतदाता भन्छन्। झापा–५ मा सङ्ग्रौलाको चर्चा राजनीतिक प्रतिस्पर्धासँगै उहाँले पुर्‍याएको सामाजिक सेवाको चर्चा हराएको छ।