गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन १३ गते । विशेष अदालतले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनील पौडेलको नाममा सिङ्गापुरको बैङ्कमा रहेको खाता विवरण झिकाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आदेश दिएको छ ।
पौडेलको नाममा सिङ्गापुरस्थित युनाइटेड ओभरसिज बैङ्क लिमिटेडमा रहेको भनिएको बचत र मुद्दती खाता विवरण पेस आदेश दिएको हो । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले उक्त आदेश दिएको हो ।
आदेशमा भनिएको छ, “विवरण प्राप्त हुन सक्ने भए विवरण र विवरण प्राप्त हुन नसक्ने भए सोहीबमोजिमको जवाफ कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयबाट यथाशक्य छिटो जवाफ मगाउनू ।”
पौडेलले सरकारी उपकरण र सफ्टवेयर खरिदका क्रममा सिङ्गापुरमा घुस लिएको र त्यो रकम सिङ्गापुरको बैङ्कमा राखेको दाबीसहित अख्तियारले २०८१ वैशाखमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । त्यही मुद्दाको सुनुवाइपछि विशेष अदालतले खातापाताको विवरणै पेस गर्न आदेश दिएको हो ।