राधा लुइटेल
फिदिम, फागुन १३ गते । भारतसँग सीमा जोडिएका पाँचथरका उच्च पहाडी क्षेत्रमा यस वर्ष पहिलो पटक हिमपात भएको छ ।
यस क्षेत्रमा गत कात्तिकयता पानी परेको थिएन । लामो खडेरीबीच मङ्गलबार दिउँसोदेखि सुरु भएको वर्षासँगै हिमपात भएको फालेलुङ–४, चाररातेका विमल गुरुङले बताउनुभयो । पर्यटकीय क्षेत्र फालेलुङको चारराते, तीनसिमाना, फालोट तथा याङवरकको चिवाभञ्ज्याङ र तिम्बु पोखरी क्षेत्रमा बाक्लो हिउँ परेको छ ।
यस्तै पहाडेमेगु, फलेके, मेजर, लामपोखरी र तोरीफुले लगायतका उच्च पहाडी क्षेत्र हिउँले ढाकिएका छन् । हिमपातपछि सीमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीको दैनिकी प्रभावित भएको छ ।
पाँचथरको याङवरक गाउँपालिकास्थित चिवाभञ्ज्याङ र लामपोखरी तथा फालेलुङ गाउँपालिकाको तीनसिमाना, फालोट र चाररातेमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) रहेका छन् । हिउँ परेपछि त्यस क्षेत्रमा अत्यधिक चिसो बढेको छ ।