प्रतीक इच्छुक शर्मा
सल्यान, फागुन १३ गते । सल्यानको दार्मा गाउँपालिका–५ मा परेको असिनाले स्थानीय ७० घरपरिवारको हिउँदे बाली पूर्णरूपमा नष्ट भएको छ।
गए राति परेको असिनापानीले प्रभावित बालीमा गहुँ, गेडागुडी, तोरी, तरकारी र अन्य हिउँदे बाली समावेश छन्। वाद्नेकी सीता खड्काका अनुसार असिना अत्यन्त ठुलो परिमाणमा परेको थियो र केही सेकेन्डमै खेतहरूमा रहेको बाली नष्ट भएको छ।
उहाँले भन्नुभयो,“हामीले महिनौँ मिहिनेत गरेर रोपेका बाली अब खान योग्य छैन। यसले हाम्रो वर्षभरिको आम्दानी पूर्णरूपमा नष्ट गर्यो।”
दार्मा–५ का स्थानीय बासिन्दा र किसानहरू असिनापछि ठुलो आर्थिक क्षतिको सामना गरिरहेका छन्। वडाध्यक्ष सुदीप केसीका अनुसार वडाका करिब ७० किसानको गहुँबालीमा क्षति पुगेको छ।
उहाँले वाद्ने, उतिसेनी, जलजले र ढोलढुङ्गा क्षेत्र सबैभन्दा बढी प्रभावित भएको जानकारी दिनुभयो। दार्मा गाउँपालिकाले प्रभावित किसानको बाली क्षतिको अनुगमन गरी आवश्यक प्रक्रिया अघि बढाउने जनाएको छ ।
उतिसेनीका किसान सन्तोष केसीले भन्नुभयो, “पाक्नै लागेको बालीमा क्षति पुगेकोले सरकारले तत्काल राहतको व्यवस्था गर्नुपर्ने छ। राहतको व्यवस्था नभए दैनिकी टार्न गाह्रो हुने छ।”