• १३ फागुन २०८२, बुधबार

निर्वाचन सुरक्षाका लागि सीमामा कडाइ: १८ गतेदेखि नाका बन्द हुने

blog

जिल्ला प्रशासन कार्यालय रुपन्देही । तस्बिर : कपिल ज्ञवाली

कपिल ज्ञवाली

सिद्धार्थनगर, फागुन १३ गते । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग जोडिएका रुपन्देहीका सीमा नाकाहरू बन्द गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बुधबार सूचना जारी गर्दै भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि भारतसँग जोडिएका जिल्लाका सबै सीमा नाका ७२ घण्टाका लागि बन्द हुने जानकारी दिएको हो । प्रशासनको सूचना अनुसार फागुन १८ गते (सोमबार) राति १२ बजेदेखि फागुन २१ गते (बिहीबार) राति १२ बजेसम्म सीमा नाकाहरू पूर्ण रूपमा बन्द रहने छन् ।

सो अवधिमा सीमाबाट पैदलयात्री, मालवाहक तथा यात्रुवाहक सवारी साधनको आवतजावतमा रोक लगाइने प्रशासनले जनाएको छ ।

यसैगरी फागुन २० गते (बुधबार) राति १२ बजेदेखि फागुन २१ गते मतदान कार्य सम्पन्न नभएसम्मका लागि सवारी साधन सञ्चालनमा निषेध गरिएको छ । एम्बुलेन्स, दूधका ट्याङ्कर, दमकल, दूरसञ्चार सेवा, शववाहन, अस्पताल तथा विद्युत् सेवा जस्ता अत्यावश्यक सेवा र अनुमति प्राप्त सवारी साधनबाहेक अन्य सवारी सञ्चालन गर्न नपाइने सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले जानकारी दिनुभयो ।

निर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै नेपाल–भारत दुवैतर्फ उल्लेख्य रूपमा सुरक्षाकर्मी परिचालन गरिने समेत प्रशासनले जनाएको छ ।