नवराज नेपाली
बागलुङ (गलकोट), फागुन १३ गते । नेपाली कांग्रेसबाट बागलुङ क्षेत्र नम्बर १ का उम्मेदवार भीम श्रीसले ३७ वडाका विशेषता र सम्भावनालाई समेट्दै ३७ बुँदे प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ । प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्नुभएका श्रीसले विकासलाई नीतिगत सुधारमार्फत अगाडि बढाउने प्रतिबद्धता जनाउनुभएको छ ।
मङ्गलबार बागलुङ बजारको बाघचोकमा आयोजित प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रममा श्रीसले शिक्षा, स्वास्थ्य, पर्यटन र कृषि लगायतका मुख्य विषय समेटिएको ३७ बुँदे प्रतिबद्धता सार्वजनिक गर्नुभएको हो।
श्रीसले डिजिटल सेवा र रोजगारीलाई प्राथमिकतामा राख्दै नीतिगत सुधारमा आफ्नो योगदान रहने बताउनुभयो। बागलुङ क्षेत्र नम्बर १ अन्तर्गत रहेका ३७ वडालाई संकेत गर्दै तयार गरिएको प्रतिबद्धतापत्रमा आधुनिक प्रविधिदेखि कला र परम्परासम्म समेटिएको उहाँले बताउनुभयो।
उहाँले डिजिटल प्रविधिको उपयोग बढाउँदै सरकारी सेवा प्रणालीलाई पारदर्शी, छिटो र प्रभावकारी बनाउने, डिजिटल सेवा विस्तार गर्ने तथा युवालाई सूचना प्रविधि र उद्यमशीलतामा प्रोत्साहन गर्ने योजना रहेको उल्लेख गर्नुभयो।
“बाँदर नियन्त्रण र अलपत्र परेका गौरवका योजनाहरू सम्पन्न गर्न संसदमा आवाज उठाउनेछु,” श्रीसले भन्नुभयो, “बलेवा विमानस्थललाई वैकल्पिक पर्यटनसँग जोड्ने र मध्यपहाडी लोकमार्गलाई टुङ्गोमा पुर्याउन पहल गर्नेछु। सार्वजनिक खरिद ऐन र शिक्षा ऐन सुधारका लागि पनि पहल गर्नेछु।”
श्रीसले विद्यमान वनलाई उत्पादनशील वनमा रूपान्तरण गर्ने तथा सामुदायिक वन र बाँझो जमिनलाई आयमूलक उपयोगमा ल्याउने योजना रहेको बताउनुभयो। बाँदर नियन्त्रणका लागि टिमुर, ओखर, अम्रिसो लगायतका वनस्पतिको विस्तार, बाँदर प्रतिकूल खेती, माहुरीपालन पकेट क्षेत्र, बाख्रापालन पकेट क्षेत्र तथा टिमुर पकेट क्षेत्र विकास गर्ने प्रतिबद्धता उहाँले जनाउनुभयो। यसका लागि आवश्यक नीतिगत र कानुनी सुधार गर्न पहल गर्ने बताउनुभयो।
प्राकृतिक स्रोत तथा वातावरण संरक्षणसँगै खानी तथा खनिज उत्खनन व्यवस्थापन र कालीगण्डकी संरक्षण अभियानमा सहयोग गर्ने पनि उहाँले बताउनुभयो।
उहाँले बागलुङ नगरपालिका–१ मा रहेको खेलमैदानलाई कालिका रंगशालाका रूपमा विकास गर्ने योजना रहेको जानकारी दिनुभयो। उम्मेदवार श्रीसले आफ्नो प्रतिबद्धतापत्र जनताको आवश्यकता र स्थानीय सम्भावनालाई केन्द्रमा राखेर तयार गरिएको बताउँदै समृद्ध, सुरक्षित र अवसरयुक्त बागलुङ निर्माणका लागि आफू प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। उहाँले जनताको विश्वास जितेर विकास, सुशासन र समृद्धिको लक्ष्य पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्यस्तै, युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने, सीप विकास तालिम सञ्चालन गर्ने, उद्यमशीलतालाई प्रोत्साहन गर्ने तथा स्थानीय उत्पादनको संरक्षण र प्रवद्र्धन गर्ने विषय पनि प्रतिबद्धतामा समेटिएका छन्।
गुणस्तरीय र व्यवहारिक शिक्षा प्रणाली विकास गर्दै विद्यालयमा प्रविधिमैत्री शिक्षण पद्धति लागू गर्ने, प्राविधिक शिक्षालाई प्रोत्साहन गर्ने तथा शिक्षकको क्षमता अभिवृद्धिका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने योजना रहेको उल्लेख छ।
स्वास्थ्य क्षेत्रमा विशेषज्ञ सेवा विस्तार, स्थानीय स्वास्थ्य संस्थाको सुदृढीकरण तथा सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने योजना अघि सारिएको छ।
पूर्वाधार विकासतर्फ ग्रामीण सडक स्तरोन्नति, सुरक्षित खानेपानी, आधुनिक पुल निर्माण, विद्युतीकरण विस्तार, कृषि क्षेत्रमा किसानलाई सहुलियतपूर्ण कर्जा, उत्पादनमा आधारित अनुदान तथा कृषि उत्पादनको बजारीकरणमा सहयोग गर्ने योजना रहेको श्रीसले बताउनुभयो। धार्मिक तथा सांस्कृतिक पर्यटन विकास, स्थानीय रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तारमा सहयोग पुग्ने कार्यक्रम पनि प्रतिबद्धतामा समेटिएका छन्।
कार्यक्रममा पत्रकार सुवास गौतम र अर्जुन कार्की लगायतले प्रश्न राख्नुभएको थियो। प्रतिबद्धतापत्रबारे नेपाली कांग्रेस बागलुङका सचिव हरिहर शर्मा तथा नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर १ का सभापति चण्डीप्रसाद शर्मा लगायतले स्पष्ट पार्नुभएको थियो।