• १३ फागुन २०८२, बुधबार

चार लाख एकहत्तर हजार मेट्रिक टन मल आयात

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन १३ गते । मुलुकमा चार लाख ७१ हजार ५११ मेट्रिक टन रासायनिक मल आयात भएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि फागुन पहिलो सातासम्म सो परिणामको मल आयात भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ  । 

चालु आवमा छ लाख मेट्रिक टन रासायनिक मल खरिद गर्ने लक्ष्य रहेकोमा चार लाख ९१ हजार चार सय मेट्रिक टन मल खरिदका लागि टेन्डर आह्वान गरेको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले हालसम्म दुई लाख ७८ हजार ७७३ मेट्रिक टन युरिया, एक लाख ७५ हजार १५० मेट्रिक टन डिएपी र १७ हजार ५८७ मेट्रिक टन पोटास आयात भएको जनाएको छ । कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट टे«डिङ कर्पोरेसनसँग एक लाख २७ हजार ४९२ मेट्रिक टन मल मौज्दात छ । 

यस्तै २२ हजार ३०३ मेट्रिक टन युरिया, सात हजार ७५३ मेट्रिक पोटास र तीन हजार ३३८ डिएपी मेट्रिक टन पोटास आउने क्रममा रहेको मन्त्रालयले जनाएको छ । 

चालु आवमा मल खरिद गर्नका लागि २८ अर्ब ८२ करोड १४ लाख रुपियाँ विनियोजन गरिएको थियो । कृषि सामग्री कम्पनी लिमिटेडले धानबालीलक्षित थप साठी हजार मेट्रिक टन रासायनिक मल खरिद गर्नका लागि टेन्डर आह्वान गरेको छ । 

आगामी धानबालीलक्षित ३० हजार मेट्रिक टन डिएपी र ३० हजार मेट्रिक टन खरिदका लागि टेन्डर आह्वान गरिएको कम्पनी जनाएको छ । अर्थ मन्त्रालयले आगामी आव २०८३/८४ को बजेटमार्फत रकम व्यवस्थापन गर्ने गरी मल खरिदका लागि २० अर्ब रुपियाँको स्रोत सहमति दिएपछि मन्त्रालयले मल खरिदका लागि टेन्डर आह्वान गर्न कम्पनीलाई निर्देशन दिएको थियो । थप टेन्डर गरिएको मल आगामी जेठ अन्तिमसम्म आइसक्ने कम्पनीले जनाएको छ ।