• १२ फागुन २०८२, मङ्गलबार

‘साम्बा’को उपचारका लागि सहयोग रकम प्रयाप्त जुट्यो

blog

काठमाडौँ, फागुन १२ गते । घुँडाको गम्भीर चोटको उपचार गर्न अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले अविस्कार गरेपछि समर्थक र फुटबल प्रेमीमा आर्थिक सहयोगका लागि अपिल गर्नुभएकी नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान एवं सर्वाधिक गोल कर्ता सावित्रा भण्डारी ‘साम्बा’को उपचारका लागि लाग्ने खर्च २४ घन्टा नपुग्दै जुटेको छ ।

नेपाली कांग्रेस पार्टीसहित विभिन्न सङ्घ संस्था र व्यक्तिबाट सहयोग एक करोड ५० लाख रुपियाँ भन्दाबढी रकम उठिसकेको छ । ‘साम्बा’ले सोमबार सामाजिक सञ्जाल फेसबुकमा भावुक स्टाटस लेख्दै आफु उपचारका लागि भौतारिएको भन्दै आर्थिक सहयोगका लागि समर्थक र फुटबल प्रेमीमा अपिल गर्नुभएको थियो ।

उहाँले उपलब्ध गराउनुभएको व्यक्तिगत खाता नम्बर र क्युआर कोडमा देश तथा विदेशबाट सहयोग रकम जुटेको हो । ‘साम्बा’ ले मङ्गलबार सामाजिक सञ्जाल फेसबुकमा पुन: स्टाटस लेख्दै आफ्ना लागि उपचार रकम प्रयाप्त उठेको र खाता समेत बन्द रहेकोले अब सहयोग नगर्न आग्रह समेत गर्नुभएको छ । 

उहाँले स्टाटसमा लेख्नुभएको छ  : 

आदरणीय समर्थकहरू,

आज ‘धन्यवाद’ शब्द निकै सानो लागेको छ । पछिल्लो २४ घण्टामा मेरो उपचारका लागि जुन साथ, विश्वास र माया मैले पाएको छु, त्यो शब्दले वर्णन गर्न सक्दिन । आर्थिक रूपमा त यहाँहरुले मेरो उपचारका लागि लाग्ने खर्च जुटाइदिनु भयो नै, मैले पाएको साथ र वाचाले मलाई अझ बलियो बनाएको छ । यहि उर्जाले म आफ्नो शल्यक्रिया र पुनर्स्थापनामा शत प्रतिशत मिहिनेत गर्ने छु । 

खेलाडीका रूपमा मैले आजसम्म कमाएको सबैभन्दा ठुलो सम्पत्ति पैसा र उपाधि होइन, यो माया, भरोसा र समर्थन भन्ने मैले फेरी एकपटक ह्रदयदेखि बुझेको छु । यही नै मेरो वास्तविक कमाइ हो ।

मेरो उपचारका लागि नेपाली बैँक खातामा एक करोड रुपियाँभन्दा बढी र विदेशी प्लाटफर्ममा ४५ लाख नेपाली रुपियाँ (५२ हजार न्युजिल्यान्ड डलर) जम्मा भएको छ । मलाई प्रायोजन गर्नुहुने संस्था र अन्य नेपालका धेरै सङ्घ(संस्थाले पनि नगद र सुविधा सहयोगको वाचा गर्नुभएको छ । यसले मेरो उपचार खर्च मात्र नभएर, कतारमा उपचारका दौरान लाग्ने आवास र यातायात पनि पुग्ने देखिन्छ ।  कतारमा रहनुहुने विभिन्न व्यक्तित्व र संस्थाले पनि सहयोगको वाचा गर्नुभएको छ । त्यसैले म आजबाट नै दुवै अकाउन्टमा सहयोग रकम रोकिदिनु हुन अनुरोध गर्दछु ।

म आबद्ध क्लब वेलिङ्गटन फिनिक्सले पनि शल्यक्रिया र पुनर्स्थापनाका लागि विमा रकम निकासा गरी त्यसमा थप सहयोग गरेर उपचारमा सहजीकरण गरिरहेको छ । चाडैं नै शल्यक्रिया मिति पाएर प्रक्रिया अघि बढ्नेमा विश्वस्त छु ।

यो चोटले मलाई शारीरिक मात्र होइन, मानसिक रूपमा पनि थकाएको थियो। तर तपाईंहरूको साथले मलाई फेरि उठ्ने साहस दिएको छ। म एक्लो छैन भन्ने विश्वास दिएको छ ।

म दृढ सङ्कल्पका साथ भन्छु, म फर्कने छु । अझ मजबुत भएर फर्कने छु । पुनः नेपालको जर्सी लगाएर मैदानमा उत्रिने छु । देशको लागि, तपाईंहरूका लागि, र त्यो विश्वासको लागि जसले मलाई अघि बढाएको छ ।

मेरो तर्फबाट “धन्यवाद” मात्र पर्याप्त हुँदैन । तपाईंहरूको यो माया र समर्थनको साँचो धन्यवाद भनेको मेरो पुनरागमन हुने छ । फेरि नेपालको जर्सी लगाएर देशको लागि जित्ने मेरो प्रतिबद्धता हुने छ ।

चाँडै मैदानमा भेटौंला ।