गोरखापत्र समाचारदाता
काठमाडौं, फागुन १२ गते । जगत सुन्दर ब्वनेकुथिको ३६ औं स्थापना दिवस मंगलबार मनाइएको छ । ने.सं. ११४५ एसइइ परिक्षामा नेपालभाषा विषयका साथै अन्य विषयमा उत्कृष्ट अङ्क प्राप्त गर्न सफल जगत सुन्दर ब्वनेकुथिका छात्रा फिदा खातुनलाई नगद राशि, पदकसहित पुरस्कार पूर्व मन्त्री तथा पद्म रत्न लुमन्ति गुथिका डा. केशव मान शाक्यले प्रदान गर्नुभएको हो ।
प्रा.डा. चुन्दा बज्राचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपालभाषाको माध्यमबाट पठनपाठन गर्दै आएको जनस्तरबाट निरन्तर रुपमा सन्चालन हुँदै आएको यस विद्यालयमा विभिन्न दाताहरुबाट स्थापना गर्दै आएको ‘बिरन्चि मोतिमाया सिरपाः’, ‘शान्ति सिरपाः’ ‘ईश्वर शान्ति सिरपाः, ‘मोतिमाया केशवलाल लुमन्ति सिरपाः’ संयोगवश यस वर्ष फिदा खातुन नै सफल भएको छ ।
विद्यार्थी र समुदाय, विद्यार्थी र संस्थापकबिचको समन्वय उदाहरणीय भएको प्रमुख अतिथि पूर्व मन्त्री शाक्यले बताउनुभयो । जगत सुन्दर ब्वनेकुथिमा अन्य विद्यालयमा झैं नेपालभाषाका साथै अन्य विषयको पठनपाठन हुने भएकोले गैर नेवार विद्यार्थीहरु पनि नेपालभाषामा पोख्त रहेको विद्यालयका प्रिन्सिपल सुनिता मानन्धरले जानकारी दिनुभयो ।