• १२ फागुन २०८२, मङ्गलबार

तनहुँमा चुनावको तयारी तीव्र : मतदान अधिकृत र सहायक अधिकृतलाई प्रशिक्षण

blog

तालिममा सहभागी मतदान अधिकृत तथा सहायक मतदान अधिकृत । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

दमौली, फागुन १२ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूलाई प्रशिक्षण दिइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय (क्षेत्र नम्बर १) र निर्वाचन अधिकृतको कार्यालय (क्षेत्र नम्बर २) द्वारा छनोट गरिएका कर्मचारीलाई सोमबार र मङ्गलबार तालिम प्रदान गरिएको हो ।

निर्वाचन कार्यतालिकाअनुसार क्षेत्र नम्बर १ मा १५८ जना मतदान अधिकृत र १३४ जना सहायक मतदान अधिकृत तथा क्षेत्र नम्बर २ मा १५६ जना मतदान अधिकृत र सोही सङ्ख्यामा सहायक मतदान अधिकृत छनोट भएका छन् । उनीहरूलाई मतदान केन्द्र सञ्चालन, मतपत्र प्रयोग विधि, बदर मत न्यूनीकरणका उपाय, मतगणना प्रक्रिया तथा आकस्मिक व्यवस्थापनलगायतका विषयमा सैद्धान्तिक र व्यावहारिक ज्ञान दिइएको छ ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख विकास लम्सालले निर्वाचनलाई प्रविधिमैत्री र त्रुटिरहित बनाउन तालिमलाई विशेष प्राथमिकता दिइएको बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचनको सफलता मतदान केन्द्रमा खटिने कर्मचारीको कार्यदक्षतामा निर्भर गर्दछ । त्यसैले हामीले कर्मचारीहरूलाई मतदान प्रक्रियादेखि मुचुल्का तयार गर्नेसम्मका हरेक पक्षमा अभ्यस्त बनाएका छौँ ।” उहाँका अनुसार जिल्लाका १० वटै स्थानीय तहमा मतदाता शिक्षालाई प्रभावकारी बनाउन स्वयंसेवकसमेत परिचालन गरिसकिएको छ ।

प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले निर्वाचनलाई सुरक्षित र शान्तिपूर्ण बनाउन एकीकृत सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाभर मोबाइल टोली, स्ट्राइक टोली तथा अन्य सुरक्षा निकाय परिचालन गरिनेछ ।

जिल्लामा कुल दुई लाख ५४ हजार ३९७ मतदाता कायम भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचनका लागि आवश्यक मतपत्र र अन्य सामग्री जिल्लामा प्राप्त भइसकेका छन् । क्षेत्र नम्बर १ को सामग्री दमौलीस्थित कार्यालयमा र क्षेत्र नम्बर २ को सामग्री दुलेगौँडामा सुरक्षित राखिएको छ ।