• १२ फागुन २०८२, मङ्गलबार

स्याङ्जामा नौ उम्मेदवारले खोले खाता

blog

अर्जुन काफ्ले

स्याङ्जा, फागुन १२ गते । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत स्याङ्जामा उम्मेदवारी दिएका नौ जनाले मात्र बैँकको खाता खोलेका छन् ।

यहाँ २४ उम्मेदवार मध्ये १५ जनाले निर्वाचनको लागि छुट्टै खाता नखोलेको आर्थिक कारोबार समिति प्रमुख थमनारायण शर्माले बताउनुभयो ।

यहाँ क्षेत्र नं-१ मा रास्वपाका डा. धनन्जय रेग्मी, एमालेका मिनप्रसाद गुरुङ, नेपाली कांग्रेसका भरतराज ढकाल, नेकपाका शैलेन्द्र घिमिरे,  उज्यालो नेपालका रविन्द्र मल्लले खाता खोल्नुभएको हो । यस्तै क्षेत्र नं -२ मा नेकपा एमालेका खिमबहादुर थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका रविन पाठक, नेपाली कांग्रेसका भागवतप्रकाश मल्ल, राष्ट्रिय जनमुक्ति पार्टीका हरिदेव थापाले खाता खोल्नुभएको हो । 

क्षेत्र नम्बर -२ का जनमोर्चाका राजेन्द्र गैरेले खाता नखोल्ने जनाउनुभएको छ भने १४ जना उम्मेदवारले अझै प्रक्रिया नै नथालेका हुन् । 

निर्वाचन खर्चका लागि तोकिएको मितिभित्रै सबैले खाता खोल्नुपर्ने व्यवस्था छ, उम्मेदवारले बेवास्ता गरिरहेका बताउँदै शर्माले पटकपटक फोनमार्फत ताकेता गरिएको छ, प्रतिबद्धता जनाइए पनि कार्यान्वयन हुन नसकेको बताउनुभयो ।

 निर्वाचन आचारसंहिता अनुसार उम्मेदवारले व्यक्तिगत खाताबाट खर्च गर्न नपाउने र निर्वाचन प्रयोजनका लागि छुट्टै बैँक खाता प्रयोग गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । 

उक्त प्रावधानको कार्यान्वयनबारे निरन्तर अनुगमन भइरहेको स्याङ्जाका सहायक प्रमुख जिल्ला अधिकारी तथा अनुगमन अधिकृत प्रेम सुवेदीले जानकारी दिनुभयो ।

 उम्मेदवारको नाम, दल, निर्वाचन क्षेत्र र बैँक विवरणसहितको प्रतिवेदन निर्वाचन आयोगमा पठाइने सुवेदीले बताउनुभयो ।उहाँका अनुसार निर्वाचनका क्रममा २३ जनाको उजुरी परेको छ ।