रवीन्द्र उप्रेती
बर्दिबास, फागुन १२ गते ।आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन यतिबेला एकपछि अर्को चाडपर्वका कारण सांस्कृतिक चपेटामा परेको छ ।
यो बेला एकपछि अर्को धार्मिक तथा सांस्कृतिक पर्व परेकाले उम्मेदवार तथा कार्यकर्ताले पहिलाझैँ मतदाता फेला पार्न नसकेको जनाएका छन् ।चाडपर्व र निर्वाचनको संयोगले मतदाता र राजनीतिक दल दुवैलाई व्यवस्थापनमा चुनौती थपेको घटनाक्रमले देखाएका छन् ।
निर्वाचनको मुखमा शिवरात्रि र ग्याल्पो ल्होसार सम्पन्न भइसकेका छन् भने मधेश क्षेत्रका बासिन्दा १५ दिने मिथिला परिक्रमा यात्रामा व्यस्त छन् ।साथै होली पर्वको तयारी र उत्साहले चुनावी माहोललाई ओझेलमा पारेको छ । मुस्लिम समुदायको पवित्र महिना रमजान पनि सुरु भइसकेकाले रोजाका कारण उनीहरूको सक्रियता तुलनात्मक रूपमा कम देखिएको छ ।
यो चुनावमा मिथिला परिक्रमाको लस्कर तथा होलीमा हुने सांस्कृतिक भिडभाड र निर्वाचन आचारसंहिता आपसमा बाझिएकाले पनि निर्वाचन सुरक्षामा खलल पर्ने अनुमान गरिएको छ ।
अर्कोतर्फ मतदानका मुखैमा पर्ने अन्तरगृह परिक्रमा र होलीको उमङ्गका कारण मतदाता चुनाव केन्द्रित हुन नसकेको मटिहानी मठका मानमहन्थ रवीन्द्र दाश वैष्णव बताउनुभयो ।वैष्णवका अनुसार धनुषाको कचुरीबाट सुरु भएको परिक्रमा भारतको कलना र गिरिजास्थान हुँदै महोत्तरीको मटिहानी आइपुग्छ । त्यसपछि जलेश्वर, मडई, ध्रुवकुण्ड र कञ्चनवनमा एकएक रात बिताउँदै आठौं दिन क्षीरेश्वरनाथ पुग्ने परम्परा छ ।
नेपाल र भारतका लाखौं श्रद्धालुले करिब १३३ किलोमिटर पैदल यात्रा गर्ने यो धार्मिक परम्परा फागु शुक्ल प्रतिपदादेखि सुरु भई १५ दिनपछि जनकपुर पुगेर होली खेल्दै समापन गरिन्छ । मधेशमा फागुन १९ गते होली पर्व पनि परेको छ ।
यसैबिच प्रशासनले निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै फागुन १७ गतेपछि दक्षिणी सीमा नाका सिल गर्ने निर्णय गरेको छ । यसले परिक्रमाका धर्मयात्री र चुनावी व्यवस्थापन दुवैमा असर पर्ने अनुमान गरिएको छ। दलहरूले मतदाताको पर्वमय मानसिकतालाई सम्मान गर्दै प्रचारप्रसार समायोजन गर्ने रणनीति अपनाएको बताएका छन् ।
नेपाली कांग्रेस महोत्तरीका अध्यक्ष नागेश्वर यादवले चाडपर्वको प्रभाव हरेक क्षेत्रमा पर्ने भएकाले निर्वाचन पनि अछुतो नरहने बताउनुभयो । उहाँले भन्नुभयो ‘योबेला मतदाताको ध्यान पर्वमा बढी केन्द्रित रहेकोले सोही अनुरूप चुनावी प्रचार समायोजन गरिएको छ ।’
त्यस्तै नेकपा एमाले महोत्तरीका निर्वाचन अभियान संयोजक सरोज यादवले आकस्मिक रूपमा घोषणा भएको निर्वाचनप्रति विगतजस्तो उत्साह नदेखिएको उल्लेख गर्दै हिन्दु–मुस्लिम समुदायका प्रमुख पर्व एकसाथ परेकाले चुनावी रौनक शिथिल भएको बताउनुभयो ।
बर्दीबासका समाजसेवी पोषण थापाका अनुसार चाडपर्व मानव समाजको धरोहर भएकाले यसले जनजीवनका सबै क्षेत्रमा स्वभाविक प्रभाव पारेको हुन्छ । उम्मेदवारले धर्मसंस्कृतिको सम्मान कायम राख्दै चुनावी अभियानलाई निरन्तरता दिनुपर्ने उहाँको सुझाव छ ।
मुख्य निर्वाचन अधिकृत माधवप्रसाद अधिकारीले निर्वाचन लोकतन्त्रको महापर्व भएको उल्लेख गर्दै निर्वाचन अवधिभर सुरक्षा र आचारसंहितालाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
धर्मसंस्कृति पवित्रता र सभ्यताको प्रतिक भए पनि यसपटक निर्वाचनलाई ‘महान पर्व’ मानेर आचारसंहिताको परिधिमा रही पर्व मनाउन आग्रह गर्नुभयो ।