सियोल, फागुन १२ गते । उत्तर कोरियाको सत्तारूढ वर्कर्स पार्टीले नेता किम जोङ उनका सबैभन्दा विश्वासपात्र मानिने बहिनी किम यो जोङलाई शीर्ष केन्द्रीय समितिभित्र विभाग निर्देशकको जिम्मेवारीमा पदोन्नति गरेको सरकारी सञ्चार माध्यमले जनाएको छ ।
यो निर्णयलाई सत्ता संरचनाभित्र उहाँको प्रभाव औपचारिक रूपमा अझ बलियो बनाइएको सङ्केतका रूपमा हेरिएको छ । पाँच वर्षमा एक पटक आयोजना हुने पार्टीको शिखर सम्मेलनका लागि हजारौँ प्रतिनिधि प्योङयाङमा भेला भइरहेका बेला गरिएको यो पदोन्नतिले कूटनीति, सुरक्षा र रणनीतिक विषयमा किम परिवारको पकड झन् सुदृढ भएको देखाएको छ ।
किम यो जोङले यस अघि प्रचार संयन्त्रमा वरिष्ठ भूमिका निर्वाह गर्नुभएको थियो, तर अहिले कुन विभागको नेतृत्व गर्नु भएको हो भन्ने खुलाइएको छैन । लामो समयदेखि आफ्ना दाजुका सबैभन्दा नजिकका सहकर्मीका रूपमा चिनिनु भएकी उहाँले आणविक वार्ता र अन्तर्राष्ट्रिय कूटनीतिमा स्पष्ट र कडा अभिव्यक्ति दिँदै आउनुभएको छ ।
अनुसन्धान कर्ता अहन चान–इलका अनुसार किम जोङले पूर्ण भरोसा गर्न सक्ने सीमित व्यक्तिमध्ये उहाँ एक हुनुहुन्छ । सिङ्गापुर र हनोईमा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएका शिखर भेटवार्तामा उहाँ कार्यस्तर अधिकारीका रूपमा सक्रिय रहनुभएको थियो । सन् २०१८ मा प्योङचाङ शीतकालीन ओलम्पिकका अवसरमा विशेष दूतका रूपमा सियोल पुग्नुभएपछि उहाँ अन्तर्राष्ट्रिय रूपमा चिनिन थाल्नुभएको हो ।
कोरियाली युद्धपछि दक्षिण कोरियामा पाइला टेक्ने किम वंशको पहिलो सदस्य बन्नु भएको उहाँले त्यसयता वासिङ्टन र सियोलप्रति कडा टिप्पणी गर्दै आउनुभएको छ । दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक येओलको सरकारलाई ‘संयुक्त राज्य अमेरिकाको वफादार कुकुर’ भनी टिप्पणी गर्नु भएको प्रसङ्ग चर्चित बनेको थियो ।
यद्यपि, दक्षिण कोरियाका वर्तमान नेता ली जे म्युङ सत्तामा आएपछि उहाँको सार्वजनिक भाषा केही नरम देखिएको विश्लेषक बताउँछन् । सन् १९८८ मा जन्मिनुभएकी किम यो जोङ पूर्व नेता किम जोङ इल र को योङ हुईका सन्तान मध्ये एक हुनुहुन्छ । स्विट्जरल्यान्डमा शिक्षा हाँसिल गर्नु भएकी उहाँ सन् २०११ मा आफ्ना पिताको निधनपछि सत्ता संरचनामा द्रुत रूपमा उक्लिनुभएको थियो ।
उहाँको पारिवारिक जीवनबारे आधिकारिक विवरण सार्वजनिक गरिएको छैन, तर गत वर्ष सार्वजनिक गरिएको दुर्लभ भिडियोमा दुई साना बालबालिकासँग देखिनुभएको थियो । पार्टी सम्मेलनलाई किम जोङले आफ्नो नेतृत्व सुदृढ पार्ने अवसरका रूपमा लिइँदै आएको छ । किम वंश अन्तर्गत नवौँ पटक आयोजना गरिएको यस भेलाले भविष्यको उत्तराधिकारबारे पनि चासो बढाएको छ ।
विशेष गरी किम जोङकी छोरी किम जु एलाई अघि सारिने सम्भावनाबारे चर्चा भइरहेको छ । दक्षिण कोरियाको राष्ट्रिय गुप्तचर सेवाले उहाँलाई सम्भावित उत्तराधिकारीका रूपमा हेरिएको जनाएको छ । यता, डोनाल्ड ट्रम्पले पुनः भेटका लागि आफू ‘शत प्रतिशत’ तयार रहेको बताउनु भएको भए पनि किम जोङले हालसम्म उच्चस्तरीय वार्ता पुनः सुरु गर्ने सङ्केत दिनु भएको छैन । पछिल्लो पदोन्नतिसँगै किम यो जोङको भूमिका आन्तरिक शक्ति सन्तुलन र बाह्य कूटनीतिमा झन् निर्णायक बन्ने अनुमान गरिएको छ । रासस/एएफपी