गोकर्ण पौडेल
तुलसीपुर,फागुन १२ गते । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को ३८ औँ स्थापना दिवसका अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।
तुलसीपुर बहुप्राविधिक शिक्षालयको आयोजना तथा फार्मेसी सङ्कायको व्यवस्थापन एवम् नेपाल रेडक्रस सोसाइटी तुलसीपुर रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
फार्मेसी सङ्काय तेस्रो वर्षका विद्यार्थी तुलराज बरालको अध्यक्षता एवम् कलेजका सहायक प्रमुख गोपाल रेग्मीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको सुरुवात कानुन सङ्कायका प्रशिक्षकहरू सुष्मा केसीले र प्रेक्षा गोराथोकीले जीवनमै पहिलो पटक रक्तदान गरेर गर्नुभएको थियो ।कार्यक्रममा तेजिना डिसी, दीपा केसी, कविन विसी, डेभिट केसी, नम्रप्रभा बुढामगर, सन्ध्या चन्द, नवराज सुनार, राजीव थापा, अविजित बस्नेत, सत्य चौधरी, सिर्जना चौधरी, सीता शाह, बालिका डाँगी, सम्झना बोहोरा ,निर्मला खत्रीलगायत ३० जनाले रक्तदान गर्नुभएको थियो ।
शिक्षालयका प्रमुख वसन्त आचार्यले जिल्लामा रगतको अभाव हुँदै गरेको अवस्थामा शिक्षालयले विभिन्न अवसर पारेर रक्तदान कार्यक्रम गर्दै आएको बताउनुभयो ।
शिक्षालयका सहायक प्रमुख गोपाल रेग्मीले निर्वाचनका कारण रक्तदाताको अभावले बिरामीलाई रगत अभाव हुन थालेपछी कलेजले रक्तदान कार्यक्रम आयोजना गरेको बताउनुभयो ।
उहाँले विद्यार्थीलाई सार्वजनिकरूपमा उत्तरदायित्व बहन गराउनका लागि रक्तदान कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।रक्त सञ्चार केन्द्र तुलसीपुरका प्राविधिक नरेश चौधरीका अनुसार माघ महिनामा रक्तदान कार्यक्रमबाट ११ पिन्ट र अन्य दाताबाट एक सय ३७ गरी जम्मा एक सय ४८ पिन्ट रगत सङ्कलन भएको थियो ।
फागुन महिनाको ११ गतेसम्म १८ पिन्ट सङ्कलन भएकोमा ४५ पिन्ट खपत भइसकेको छ । राप्ती प्रादेशिक अस्पतालमा ८० जनाले नियमितरूपमा डायलासिस गर्दै आउनुभएको छ ।