• १२ फागुन २०८२, मङ्गलबार

प्राविधिक शिक्षालयलाई विश्वविद्यालय बनाउने चुनावी मुद्दा

blog

नौरते नेपाली 

सिँजा (जुम्ला), फागुन १२ गते । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलक्षित विभिन्न राजनीतिक दलका उम्मेदवारले कर्णाली प्राविधिक शिक्षालयलाई विश्वविद्यालय बनाउने सङ्कल्प सार्वजनिक गरेका छन् । चुनावी माहोल बढेसँगै दलहरूले वाचापत्र, प्रतिज्ञापत्र र सङ्कल्पपत्रमार्फत शिक्षालयको स्तरोन्नतिको एजेन्डा अघि सारेका हुन् । 

नेकपा (एमाले) जुम्लाले आफ्नो वाचापत्रको तेस्रो बुँदामा शिक्षालयलाई कृषि तथा पर्वतीय विश्वविद्यालयका रूपमा विकास गर्न प्राथमिकता दिने उल्लेख गरेको छ । नेपाली कांग्रेसले प्रतिज्ञापत्रको दोस्रो बुँदामै शिक्षालयलाई प्राविधिक विश्वविद्यालय बनाउने प्रतिबद्धता जनाएको छ । प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार मनऋषि धितालले पनि शिक्षालय सुधारका लागि ठोस योजना ल्याउने सङ्कल्प गरेका छन् । २०३७ सालमा स्थापना भएको यस शिक्षालयले चार दशकभन्दा बढी समयदेखि प्राविधिक शिक्षा प्रदान गर्दै आएको छ । हालसम्म छ हजारभन्दा बढी दक्ष जनशक्ति उत्पादन गरिसकेको शिक्षालयबाट झन्डै चार हजार जना विभिन्न सरकारी तथा गैरसरकारी निकायमा कार्यरत छन् तर ४३ वर्ष पुराना संरचनाकै भरमा शिक्षालय सञ्चालन भइरहेको छ । ५८ वटा भवनमध्ये अधिकांश जीर्ण अवस्थामा छन् । छात्रावाससमेत चुहिने छानामुनि सञ्चालन हुँदै आएको छ । 

स्थानीय नरेन्द्र खत्रीका अनुसार चार दशकसम्म राज्य र जनप्रतिनिधिको नजरमा नपरेको शिक्षालय अहिले चुनावी एजेन्डा बन्नु सकारात्मक भए पनि विगतका अनुभवले आशङ्का जन्माएको छ । पहिले पनि धेरै वाचा भए, तर काम नदेखिएको उहाँको भनाइ छ । यस पटक भने वाचा पुरा हुनेमा आशावादी भएको उहाँले बताउनुभयो । नागरिक समाजका अध्यक्ष राजबहादुर महतले विश्वविद्यालय बनाउने विषय उम्मेदवारको प्रत्यक्ष अधिकारक्षेत्रभित्र नपर्ने बताउनुभयो । उहाँका अनुसार विश्वविद्यालय स्थापनाका लागि नीतिगत, कानुनी र बजेटीय प्रकिया आवश्यक हुन्छ । हल गर्न सकिन्छ तर चुनावी वाचा जस्तो सजिलो विषय नभएको उहाँको भनाइ छ । राज्यको स्रोतसाधनले धान्न सक्ने आधार तयार नगरी विश्वविद्यालय घोषणा गर्नु एजेन्डामै सीमित हुन सक्छ । 

हाल शिक्षालयमा ४९० जना विद्यार्थी अध्ययनरत छन् । जसमा सिभिल इन्जिनियरिङतर्फ १३५, फार्मेसीतर्फ  ११४, एजी प्लान्ट साइन्सतर्फ १२८, फरेस्ट्रीतर्फ ७५ र एचएतर्फ ३८ जना विद्यार्थी अध्ययन गरिरहेका छन् । प्राविधिक शिक्षाप्रति आकर्षण बढ्दो भए पनि पूर्वाधार अभावले गुणस्तरीय शिक्षामा चुनौती देखिएको शिक्षालय प्रमुख विकल अधिकारीको भनाइ छ । भवन मर्मत तथा पूर्वाधार विस्तारका लागि पर्याप्त बजेट आवश्यक रहेको उहाँले बताउनुभयो । चुनावी माहोलमा विश्वविद्यालय बनाउने आश्वासनले मतदाताको ध्यान तानिरहेको भए पनि कार्यान्वयनको स्पष्ट खाका नआएसम्म मतदाताको विश्वास पूर्ण रूपमा जित्न नसकेको देखिन्छ ।